आगामी आर्थिक बर्षका लागि बेसीशहर नगरपालिकाकाे बजेट साढे ७५ करोड

खबरकुञ्ज

बेसीशहर, असार १० । आगामी आर्थिक बर्षका लागि लमजुङको बेसीशहर नगरपालिकाले साढे ७५ करोडको बजेट पेश गरेको छ । 

सोमबार आयोजित नगरसभाको १७ औं अधिवेशनमा नीति, कार्यक्रमा र बजेट प्रस्तुत गर्ने क्रममा नगर उपप्रमुख पद्मा गुरुङले आगामी बर्षको लागि ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट पेश गरेकी हुन् । यो बजेट गत बर्षको भन्दा १ करोड ४७ लाख ३३ हजार कम हो ।

नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख गुरुङले आगामी आर्थिक बर्षका लागि चालुतर्फ ४७ करोड ८१ लाख र पूँजीगततर्फ २७ करोड ६७ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । यस बर्ष कूल बजेटको ६३.३४ प्रतिशत चालुतर्फ छ । पूँजीगत ३६.६६ प्रतिशत मात्र बजेट  छुट्याइएको छ ।

बजेट प्रस्तुत गरिरहँदा उपप्रमुख गुरुङले बजेटको श्रोतमा संघीय समानीकरण अनुदानबाट १३ करोड ८ लाख, संघीय राजस्वबाट १० करोड ७ लाख, आन्तरिक आयबाट ८ करोड ५ लाख, प्रदेश सरकारबाट ४ करोड २१ लाख ५५ हजार, संघीय समपुरक बिशेष अनुदान र अन्य श्रोतबाट ३ करोड २९ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिन् ।

उनले बजेटका प्राथमिकताबारे प्रकास पार्दै बजेटले शिक्षा, स्वास्थ्य, कृषिका साथै स्वरोजगार र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसंग सम्बन्धित कार्यक्रम चालु बर्षमा सफल देखिएकाले तिनै कार्यक्रममा जोड दिइएको जानकारी दिइन् ।

बजेटको प्रस्तुतिसंगै गुरुङले चालु आर्थिक बर्षका उपलब्धीसमेत सविस्तार बर्णन गरेकी थिइन् । उनले चालु आर्थिक बर्षका लागि नगरपालिकाले कार्यान्वयन गरेका ५ सय ५३ योजनामा ५ सय ६ वटा योजना सम्पन्न गरिएको जानकारी गराइन् । चालु बर्षमा १ सय ५० जनालाई स्वरोजगारमूलक तालिम दिइएको, न्यायिक समितिमा परेका ४५ मध्ये २१ उजुरी फछ्र्यौट गरिएको र ९५ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका र दीर्घरोगीहरुको सेवामा समर्पित भएका ५० परिवारका सदस्यलाई सम्मान गरिएको लगायतका बिषयलाई उपलब्धीको रुपमा ब्याख्या गरेकी थिइन् ।


नगरसभामा बोल्दै नगरप्रमुख अर्यालले आवश्यकता र औचित्यका आधारमा  पक्षपात र भेदभावरहित ढंगले नगरको समृद्धिका लागि नीति, कार्यक्रम र बजेट आएको बताए ।

सो अवसरमा अर्यालले संघीय सरकारबाट आउने बजेट कटौति भएकाले जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकिएको स्वीकार गर्दै सीमित श्रोत साधनका बाबजुद राम्रो बजेट ल्याएको सुनाए ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले गत अर्थिक बर्षको लेखा परीक्षण प्रतिवेदन, नगरप्रवक्ता हिरालाल विश्वकर्माले प्रस्तावित कानुन पेश गरेका थिए ।

नगरसभामा सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, बिषयगत शाखाका प्रमुख लगायत कर्मचारीहरु सहभागी थिए ।

प्रतिक्रिया