बेसीशहर । । बेसीशहर बजारमा अब्यवस्थित रूपमा विद्युत् र टेलिकमका खम्बामा जेलिएका इन्टरनेट तथा केबल सञ्चालकले जडान गरेका अव्यवस्थित तार १५ दिनभित्र हटाउन सेवा प्रदायकलाई बेसीशहर नगरपालिकाले निर्देशन दिएको छ ।
अव्यवस्थित र अनावश्यक तारले बेसीशहर बजारलाइ कुरूप बनाउनुका साथै शहरको सौन्दर्य घटाएको र दुर्घटनासमेत निम्त्याउने भएकाले नगरपालिकाले त्यस्ता तारकाे व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

बेसीशहर नगर क्षेत्रमा डिजिटल केवल तथा नेटवर्किङ ब्यवसायीहरूकाे सहभागितामा मंगलबार बसेकाे वैठककाे निर्णय अनुसार बेसीशहर बजार क्षेत्रमामा रहेकाे बिजुली तथा टेलिफाेनका पाेलमा अब्यवस्थित रूपमा रहेका पुराना तथा प्रयाेगमा नआएका केवल तथा नेटवर्किङका तारहरू १५ दिनभित्र हटाउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेकाे हाे । नगरपालिकाका तर्फबाट प्रमुख प्रशाशकीय अधिकृत इमनाथ कँडेलले सूचना जारी गरेका हुन् ।
नगरपालिकाले याे सूचनाकाे म्याद पछि अब्यवस्थित तारहरू ब्यवस्थापनकाे काम शुरू हुने भएकाले काेही कसैकाे विवरण नखुलेका तार तथा केवलहरू छुट्न गएमा सम्बन्धित संस्था वा ब्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले चेतावनी दिएकाे छ ।
बेसीशहर बजारमा बिना अनुमति केबुल तथा इन्टरनेट प्रदायक कम्पनीहरुले नेपाल टेलिकम तथा विद्युत पाेलमा जथाभावी तार टाँगेका छन् । विद्युत तथा टेलिफाेनकाे पाेल प्रयाेग गरेबापत शुल्क तिर्नुपर्छ तर अनुमति लिएकाहरूले पनि कतिपयले शुल्क तिरेका छैनन् ।
26 Jul 2023