जनताको सुख दुःखमा साथ रहेर लोकप्रिय बनेका यी जनप्रतिनिधि

मिलन शर्मा दनाई

बेसीशहर, भदाै २ । हाम्रो समाजमा अधिकांश राजनीतिक दलका नेता र ती दलबाट चुनिएका जनप्रनिधिलाई हेर्ने दृष्टिकोण  राम्रो छैन । नेता हुन वा जनप्रतिनिधि तीमध्ये अधिकांश भ्रष्ट हुन्छन् र जनविरोधी काम गर्छन् भन्ने आम बुझाइ बन्न थालेको छ । तर यस्ता सयौं नेता र जनप्रतिनिधिको भीडमा कोही यस्ता पनि जनप्रतिनिधि छन्, जो जनताको सुख दुःखमा साथ रहेर आफ्नो कर्मले जनतामाझ लोकप्रिय बनिरहेका छन्‌ । यस्तै सिमित जनप्रतिनिधिमध्येका हुन् लमजुङको क्व्होंलासोंथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ र उपाध्यक्ष गमीमाया गुरुङ । जसले एक सुत्केरी महिला र उनको गर्भको शिशुको ज्यान जोगाएका छन्‌ ।

कुरो हिजो यही भदौ १ गते आइतबारको हो । लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ भुजुङको स्वास्थ्य चौकीमा एक महिलालाई सुत्केरी गराउन ल्याइयो । तर सिमित श्रोत साधनका कारण स्वास्थ्य केन्द्रमा उनलाई सुत्केरी गराउन सम्भव भएन । शल्यक्रिया नै गराउनु पर्ने भएकाले विकट गाउँको सामान्य स्वास्थ्य संस्थामा त्यो सम्भव नभए पछि उनलाई सदरमुकाममा रहेको प्रदेश अस्पतालमा लैजान त्यहाँका स्वास्थ्यकर्मीले सल्लाह दिए ।

भुजुङ गाउँमा मात्र होइन, सिंगो गाउँपालिकामा एम्बुलेन्सको ब्यवस्था छैन । तत्काल गाडी खोजेर सुत्केरी गराउन अस्पताल लैजान सहज थिएन । भुजुङकै गमीमाया गुरुङ गाउँपालिकाको उपाध्यक्ष भएकाले वडा अध्यक्ष, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले उनलाई यो कुरा सुनाए । उपाध्यक्ष गुरुङले यो कुरा गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङलाई जानकारी गराइन्‌ ।

सुत्केरी ब्यथाले च्यापेका बेला सुत्केरी हुन नसक्ने र अवस्था भएपछि गर्भवती र गर्भको शिशुकै ज्यान खतरामा पर्ने देखिएपछि गाउँपालिकाका अध्यक्ष गुरुङ आफै गाउँपालिकाको पिकअप लिएर पुगे । ती गर्भवतीलाई त्यही गाडीमा राखेर सदरमुकाम बेसीशहरमा रहेको प्रदेश अस्पतालसम्म लगियो ।

त्यतिबेलासम्म ती गर्भवती महिलाको अवस्था नाजुक भइसकेको थियो । प्रदेश अस्पताल भए पनि अझै पनि अस्पताल सुविधा सम्पन्न भइसकेको छैन । प्रदेश अस्पतालका डाक्टरहरुले पनि गर्भवती महिलाको अवस्था हेरेर बिरामीलाई तत्कालै पोखरा स्वास्थय विज्ञान प्रतिष्ठानमा रिफर गरिदिए ।

प्रदेश अस्पतालले पनि रिफर गरेपछि हतार हतार ती महिलालाई पोखरा पुर्‍याइयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती महिलाको शल्यक्रिया गरी बच्चा निकालियो । आमा र नवजात शिशु दुवैको ज्यान बच्यो । अहिले दुवैको स्वास्थ्य अवस्था सामान्य छ । ती गर्भवती महिलालाई पनि समयमै ठाउँमा पुर्‍याउन नसकेको भए जे पनि हुन सक्थ्यो । तर जनप्रतिनिधिको जिम्मेवारीबोधका कारण एक गर्भवती आमाको ज्यान जोगिएको छ र एक नवजात शिशुले संसार देख्न पाएको छ । यस घटनाले भुजुङ र सिंगो गाउँपालिका नै अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षप्रति स्थानीयको श्रद्धा बढेको छ । 

केही समय अघि क्व्होलासोथार गाउँपालिका वडा नंं २ शैलुङकी एक महिलालाई सुत्केरी ब्यथााले च्यापेर गाउँमा सुत्केरी गराउन नसकेपछि अध्यक्ष गुरुङ गाउँपालिकाको गाडी लिएर उनको घरै पुगी उनलाई अस्पताल लगी सुत्केरी गराएका थिए । 

जनताको लागि काम गर्ने भन्दै राजनीति गर्ने धेरै जना चुनावमा उठ्छन्। जनताका पीर मर्का बुझ्ने, दुःख सुखमा साथ दिने आश्वासन पनि दिन्छन्‌ । तर जनप्रतिनिधि भइसकेपछि जनतासंग गरेको बाचा कबोल बिर्सन्छन्‌ । तर सुर्यप्रसाद गुरुङ गाउँपालिकाको अध्यक्ष चुनिएदेखि नै जनतासंगै छन्, उनीहरुको सुख दुःखमा साथ दिइरहेका छन्‌ । पालिकाभित्र सम्भव भएसम्म कोही नागरिक दुःखमा परेको थाह पाएमा घरमै गएर भेट्ने, नभए फोन गरेर सान्त्वना दिन्छन् उनी ।

गाउँ कार्यपालिकाको काम बाहेक बिहान बेलुका गाउँको विकासका लागि स्थानीयसंग छलफल गर्छन्, गाउँलेहरूलाइ गाउँको विकासबारे आफ्ना अनुभव र सपना सुनाउँछन्‌ । गाउँपालिकाको सिमित बजेटले जनताको चित्त त उनले बुझाउन सकेका छैनन्, तर अपजस नआउने गरी काम गर्ने जनप्रतिनिधिमा चिनिन्छन् उनी । उनको यही स्वभावले विपक्षीहरू समेत नतमस्तक छन्‌ ।

सम्बन्धित खबर

https://khabarkunjanews.com/news/GTZPXf-2023-09-10-053637


प्रतिक्रिया