लमजुङ प्रशासनकाे सेवा प्रवाह अब सेवाग्राहीले नै मूल्याङ्कन गर्न पाउने, बिचाैलियालाइ निषेध

जिल्ला प्रशासन कार्यालय लमजुङले आगामी असोज १ गतेबाट कार्यालयको सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीबाट मूल्यांकन गराउने ब्यवस्था मिलाउने भएको छ ।


यो ब्यवस्था अनुसार विभिन्नि काम लिएर जिल्ला प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीले सेवा प्राप्त गरे पश्चात् प्रदान गरिएको सेवाको मूल्याङ्कन गर्न सक्ने छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आफू कार्यरत रहेको ६ महिनाको प्रगति सार्वजनिक गर्न कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । 


सो अवसरमा उनले कार्यालयमा नागरिकता अभिलेखलाई सुरक्षित र व्यवस्थित रूपमा भण्डारणको व्यवस्था गरिएको, सेवाग्राहीको चाप र छिटो छरितो सेवा प्रवाह व्यवस्थापन लाई मध्यनजर गरी नयाँ नागरिकता र प्रतिलिपि नागरिकता भिन्ना भिन्नै काउन्टरबाट जारी हुने व्यवस्था मिलाइएको जानकारी गराए ।

 

उनले कार्यालयमा आउने सेवाग्राहीको सजिलोका लागि नागरिक सहायता कक्ष स्थापना गरी सूचारु गरिएको र राष्ट्रिय परिचयपत्र एवं राहदानीको अनलाइन फारम कार्यालयबाटै निःशुल्क भरिदिने व्यवस्था गरी विचौलियालाई प्रवेश निषेध गरिएको बताए ।


प्रजिअ अधिकारी गत चैत १६ गतेबाट लमजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् । यस अवधिमा जिल्ला प्रशासन कार्यालयमार्फत भएका मुख्य कामहरुको विवरण सार्वजनिक गर्दै कार्यालयका कामका विषयमा गुनासा सुन्न र सुझाव लिन आफू हरदम तयार रहेको बताए ।


सो अवसरमा उनले ६ महिनाको अवधिमा भएका मुख्य कामहरुको सूचिसमेत सार्वजनिक गरेका छन् । उनले यस अवधिमा बेसीशहरको वडा नंं ३ बाहुनबेसी पातलेचौरमा सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्मका लागि १७ रोपनी १४ आना ३ पैसा १ दाम जग्गा प्राप्त गर्ने प्रक्रिया पुरा भएको र उदीपुरको देउरालीडाँडाको पहिरोको अबरोध हटाई निर्वाध यातायात सुचारु गर्न विशेष पहल गरीएको जानकारी गराए ।


उनले बेसीशहर–चामे सडकखण्डको खरखरे भीरको पहिरोले हुने अवरोध हटाई निर्वाध रुपमा यातायात सुचारु गराउन र सम्भावित जनधनको क्षति हुन नदिनका लागि सो क्षेत्रमा चौविसै घण्टा डोजर लगायतका आवश्यक सामग्री तैनाथ गरिएको पनि जानकारी दिए । प्रजिअ अधिकारीले कारागार सुरक्षालाई विशेष प्राथमिकतामा राखी कारागारको भित्री भागमा मुढा उद्योगसँग सम्बन्धित समानहरू तथा अन्य असुरक्षित सामाग्रीहरू हटाइएको, कारागारको पर्खालको माथि लगाइएका तारबारलाई व्यवस्थित गरिएको र रात्रिकालीन समयमा प्रत्येक सुरक्षा पोष्टमा जोडीमा सुरक्षाकर्मी परिचालन गर्ने ब्यवस्था मिलाइएको बताए ।


चालु आर्थिक वर्षका लागि जिल्लाको अपराध नक्सा सहितको एकीकृत सुरक्षा रणानीति तयार गरी कार्यान्वनय गरिएको र जिल्लाको क्षेत्रगत सुरक्षा कार्ययोजना तयार गरी कार्यान्वयनमा लगिएको र अबैध रूपमा हुने वन्यजन्तुको चोरी पैठारी, जडिवुटी ओसारपसार लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि सिमा नाकाहरूमा सुरक्षा चेकजाँचलाई कडाई गरिएको र सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीको बीचमा बार्षिक कार्यसम्पादन सम्झौता गरी प्रतिवेदन पेश गर्ने ब्यवस्था मिलाइएको बताए ।


प्रजिअ अधिकारीले सबै सरकारी कार्यालयमा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरी गुनासो पेटिकालाई प्रविधि मैत्री र व्यवस्थित बनाउन निर्देशन दिइएको र प्रशासन कार्यालयमा हरेक महिना कर्मचारीहरुको आन्तरिक मूल्याङ्कन गरी उत्कृष्ट कर्मचारी घोषणा गर्ने परिपाटीको विकास भएको जानकारी दिए ।


प्रजिअ अधिकारीले मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा देखिएका विवादमा सरोकारवाला पक्षबीच छलफल गराई विवाद समाधानको प्रयास गरिएको र जिल्ला भित्र संचालित सम्पूर्ण जलविद्यूत आयोजनाहरूले अनिवार्य रूपमा वातावरण प्रभाव मूल्याँकन प्रतिवेदनले तोके बमोजिम वृक्षारोपण गर्ने र कम्तिमा १० प्रतिशत पानी नदिमा अनिवार्य छाड्नुपर्ने गरी आयोजनाहरू समेतको सहमतिमा निर्णय गरिएको जानकारी दिए ।


साे अवसरमा पत्रकारहरूले बजार अनुगमन, विद्युत प्रसारण लाइनकाे मुअब्जा वितरण देखि शान्ति सुरक्षासंग सम्बन्धित विषयमा प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएका थिए ।





प्रजिअ अधिकारीले प्राप्त सुझावलाई ग्रहण गरी सोही अनुसार काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । पत्रकार भेटघाट कार्याक्रममा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी सहित पदाधिकारी, पूर्व केन्द्रिय सदस्य किसान संगीत नेपाली, पत्रकार नवराज पहाडी लगायतका जिल्लामा क्रियाशील सञ्चारकर्मीको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया