लमजुङकाे उच्च पहाडी क्षेत्रमा बन्यजन्तुकाे अबैध चाेरी शिकारी हुने गरेकाे खुलासा

बेसीशहर । लमजुङको दोर्दी गाउँपालिका अन्तर्गतका उत्तरी क्षेत्रमा बन्यजन्तुको अवैध शिकार हुने गरेको रहस्य खुलेको छ ।

बन्यजन्तुकाे चाेरी शिकारी हुने गरेकाे खबर पाएपछि डिभिजन बन कार्यालय लमजुङले त्यस क्षेत्रको अनुगमन गरेको छ । दोर्दी गाउँपालिकाको वडा नंं ६, क्युदो खोला डाँडा वरपर बन्यजन्तुको अवैध शिकार हुने गरेको पाईएको कार्यालयका डिभिजन प्रमुख पूर्णेश्वर सुवेदले जानकारी दिए । 


केहि दिन अघिमात्रै त्यहाँका एक स्थानीयले सामाजिक सञ्जालमार्फत त्यस क्षेत्रमा बन्यजन्तुको अवैध शिकारका लागि पासो थापिएका तस्विरहरु सार्वजनिक गरेका थिए । यो देखेपछि डिभिजन बन कार्यालये प्रहरी सहित डिभिजन वन कार्यालयको टोली त्यसतर्फ अनुगमनका लागि पठाएको थियो । डिभिजन बन कार्यालयका बन अधिकृत अरुण पराजुलीको नेतृत्वमा स्थलगत अनुगमनमा गएको टोलिले त्यस क्षेत्रमा जंगली जनावरलाई लक्षित गरी थापेको पासो सहित कस्तुरी मृग, डाँफे लगायतको बन्यजन्तुको हड्डी एवं पंखेटा फेलापारेको डिभिजन प्रमुख सुवेदीले जानकारी दिए । 

समुद्री सतहबाट करिव चारहजार मिटर उचाई रहेको उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग पहिचानको क्रममा गएको टोलीले अवैध शिकारका लागि थापिएको पासो देखेका थिए । गत असार ३१ गते सो टोलीले सामाजिक सञ्जाल मार्फत तस्वीर सार्वजनिक गर्दै सम्वन्धीत निकायको ध्यानाकर्षण गराए पछि डिभिजन कार्यालयले टोली खटाएको थियो ।


टोलीमा बन अधिकृत पराजुलीको नेतृत्वमा वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीय व्यक्ति सम्मिलित थिए । उक्त टोलीले बन्यजन्तुको हड्डीहरु सहितका आखेटो पहार र  फलामे तारको पासोहरु समेत बरामद गरेको थियो । अनुगमनमा खटिएको टोलीले अबैध रुपमा जंगली जनावर र पक्षीहरुको तस्करी हुने गरेका केही प्रमाणहरु लिएर फर्किएको र आगामी दिनमा अनुगमन लाई निरन्तरता दिइने सुवेदीले बताए ।

भौगोलिक रुपमा बिकट भएका कारण लमजुङका उच्च पहाडी क्षेत्रहरुमा बन्यजन्तुको अवैध शिकार तथा ओसारपसार हुने गरेको बताइन्छ । ती क्षेत्रबाट अबैध रुपमा जडिबुटीहरुको समेत चोरी शिकारी हुने गरेको भए पनि आवश्यक जनशक्ति अभाव र विकट भूगोलले नियमित रुपमा अनुगमन गर्न नसकिएको डिभिजन प्रमुख सुवेदीले बताए । 


लेक लाग्ने भएकाले उच्च लेकहरुमा सामान्य व्यक्ति पुग्न कठिन हुने र यातायातको सुविधा नहुँदा नियमनमा समस्या भएको भन्दै सुवेदीले प्राप्त जानकारीका आधारमा बन्यजन्तुको अवैध शिकार र जडिवुटीको अवैध संकलनबारे आएको सूचनालाई आधार मानी बेला बखत अनुगमन र कारवाहिको प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले अवैध जडिवुटी संकलन, बन्यजन्तु शिकार, चोरी निकासी रोक्न स्थानीय सरकार, स्थानीय बासीन्दा, सुरक्षा निकाय सबैसंग हातेमालो गरे अगि बढ्ने बताएका छन् ।

 


प्रतिक्रिया