बेसीशहर, पुस ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतमले प्रतिशोधको राजनीतिले देशलाई कहिँ कतै नपु¥याउने भएकाले प्रतिशोधको राजनीति छोडेर स्वस्थ राजनीतिमा उत्रन प्रतिस्पर्धी राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।
शुक्रबार बेसीशहरमा राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर नगरपालिकाको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै गौतमले महाधिवेशन सम्पन्न गरेको नेकपा एमाले र महाधिवेशनको तयारी गर्दै गरेको नेपाली कांग्रेसका नेताहरुलाई जनताको विश्वास हामीमा छ भन्ने उहाँहरुलाई लाग्छ भने जनताको हितमा काम गर्न, जनताको मुद्दा बोक्न र खुला हृदयले स्वच्छ र स्वस्थ राजनीतिक प्रतिस्पर्धामा उत्रन चेतावनी दिएकी छन् ।
युद्धमा जस्तै राजनीतिमा पनि नियम हुने भन्दै उनले नियम अनुसार जनताको माझमा गएर स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरी जनताबाट अनुमोदित हुन राजनीतिक दलहरुलाई आग्रह गरिन् । उनले भनिन्– सत्तामा पुगेकाहरुले विरोधीहरुलाई दबाउन कानुनलाई हतियारको रुपमा प्रयोग गरेर झुटा मुद्दा लगाएर फसाउन थाल्छन्, भने भोलि त्यो आगोले समाजका सबै तह तप्कालाई खाइदिन्छ, यसलाई राष्ट्रिय राजनीतिमा रहेकाहरुले सोच्नुपर्छ ।
गौतमले छोटो अवधिमा रास्वपाले राष्ट्रिय राजनीतिमा प्रभाव जमाएकै कारण, सशक्त प्रतिपक्षी बनेर जनताका मुद्दामा सरकारको जवाफदेहिता मागेकै कारण रास्वपालाई कमजोर बनाउन पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको दावी गरिन् । उनले सभापतिलाई सहकारी ठगीको आरोप लगाएर संसदीय छानबीन समिति बनाइएको र छानवीनमा लामिछानेले कुनै किसिमको ठगी नगरेको प्रतिवेदन आउँदा पनि प्रतिशोध साँधेर कारागारमा पठाइएको जिकिर गरिन् । उनले ढिलै भए पनि अदालतले सभापति लामिछानेलाइ धरौटीमा छोडेकोमा सन्ताेष ब्यक्त गरिन् ।

नेतृ गौतमले भनिन्– रवि लामिछानेले इमानको राजनीतिको थालनी गरेको स्मरण गर्दै विदेशमा बेचिएका चेलीको उद्दार गर्ने, सिटामोल पनि नपाइने दुर्गम गाउँलेहरुले स्वास्थ्यको अधिकार पाउनुपर्छ भनि अस्पताल खोल्ने, छोरी घरमा पठाए ऋण माफि गरिदिन्छु भन्ने साहु महाजनलाई कानुनी कारबाहीमा ल्याउने रवि लामिछानेलाई हामीले बिर्सन हुँदैन । रविको इमानले बनेको पार्टीलाई आज तपाइँहरुको आवश्यकता छ ।
नेतृ गौतमले रास्वपाले विघटित प्रतिनिधि सभामा देश र जनताका मुद्दालाई उठाएको स्मरण गर्दै जनताका चाहना पुरा गर्न २१ सिट पर्यप्त नभएकाले आगामी फागुन २१ गतेको निर्वाचनमा दुई तिहाई मत दिन मतदाताहरुसंग आग्रह गरिन् । रास्वपा देशमा सुशासन, विकास र समृद्धिका लागि स्थापना भएकाले देशमा सुशासन, विकास र समृद्धि ल्याएरै छोड्ने प्रतिबद्धता जनाइन् ।
गोतमले देश बनाउन राजनीतिक दलका नेता मात्र तयार भएर नहुने भन्दै जनताहरु पनि त्यतिकै जिम्मेवार हुनुपर्ने बताइन् । देश बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा पु¥याउनुपर्ने भन्दै उनले त्यसका लागि प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा घण्टी चिन्हमा मत हाल्न उनले आग्रह गरिन् ।
लिच्छवीकाल र मल्लकालमा पनि निरन्तर अघि बढ्ने नीति, असल नेतृत्व र चेतनशील जनता भएकै कारण नेपाल समृद्ध रहेको उदाहरण पेश गर्दै उनले अहिले त्यसकै अभावमा देश पछि परेको बताइन् । उनले रास्वपा परिपक्व राजनीतिक पार्टीको रुपमा स्पष्ट नीति र विचार लिएर जनतामाझ आएको र देशको विकास र समृद्धिका लागि चेतनशील नेपाली जनताको विश्वास र भरोसा खोजिरहेको बताइन् ।
कार्यक्रममा रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतम, केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी लगायतले मन्तब्य राखेका थिए ।
खबरकुञ्ज