लमजुङमा आँखा अस्पतालकाे सपना साकार हुँदै, माेतियाबिन्दूकाे शल्यक्रिया यहीँ हुने

बेसीशहर । लमजुङमा छिटै मोतियाविन्दू लगायत आँखाका रोगको शल्यक्रियासहितको आँखा अस्पतालले सेवा शुरु गर्ने भएको छ ।

हिमालय आँखा अस्पताल तथा अन्य विभिन्न दातृ निकायको सहयोगमा लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ८ भोटेओडार बगैंचामा शल्यक्रिया सेवा  सहितको आँखा अस्पताल छिटै सञ्चलनमा आउने भएको हो । सोही अस्पतालमा आँखाका विभिन्न रोगको उपचारसहित मोतियाविन्दू लगायत आँखाका विभिन्न रोगको शल्यक्रिया सम्भव हुँदैछ ।

हाल भोटेओडारको कृष्ण बगैंचामा सञ्चालन हुँदै आएको भोटेओडार आँखा उपचार केन्द्रले सेवा विस्तार गरी शल्यक्रियासमेतको सेवा उपलब्ध गराउन लागेको हो ।

राष्ट्रिय योजना आयोग, हिमालय आँखा अस्पताल, भोटेओडार आँखा उपचार केन्द्रका सञ्चालक समिति, सुन्दबरजार नगरपालिका, सुन्दरबजारको वडा नं. ८ र ९ को सहयोग र सहकार्यले लमजुङमै पहिलो पटक शल्यक्रिया सेवासहितको आँखा अस्पतालको सपना साकार हुन लागेको हो ।

अहिले कृष्ण बगैंचामा आँखा उपचार केन्द्रको भवन बनिरहेको छ । यसका लागि राष्ट्रिय योजना आयोगले बजेट दिएको छ । आयोगले आर्थिक बर्ष २०७८/०७९ मा भवन निर्माणका लागि ९१ लाख रुपैयाँ बजेट दिएको थियो । आर्थिक बर्ष २०७९/०८० मा सोही भवनका लागि आयोगले पुनः ७० लाख रुपैैयाँ बजेट दियो । यही बजेटबाट अहिले कृष्ण बगैंचामा १८ कोठा भएकोे २ तले आँखा अस्पतालको भवन बनिरहेको छ । 

अब केही महिनाभित्रै यो भवनको निर्माण सम्पन्न हुँदैछ । भवनमा अब झ्याल ढोका हाल्ने र रंगरोगन गर्ने काम बाँकी छ । भवन निर्माणको कार्य सम्पन्न भएपश्चात भवनबाट शल्यक्रियासहितको आँखाको उपचार सेवा सञ्चालन हुने भोटेओडार आँखा उपचार केन्द्रका अध्यक्ष उत्तरकुमार श्रेष्ठले जानकारी दिए ।


उत्तरकुमार श्रेष्ठकाे लगाव:

कुरो २०७६ को हो । सुन्दरबजार÷भोटेओडार क्षेत्रमा आँखाका विरामीका लागि उपचार सेवा सञ्चालन हुनु पर्ने सोच त्यहाँका समाजसेवीहरुमा पलायो । भोटेओडारको भक्ति नमूना माविमा प्रधानाध्यापक भइ निवृत जीवन विताइरहेका उत्तरकुमार श्रेष्ठ निवृत जीवनमा पनि समाजसेवामा सक्रिय थिए । अरु रोगको उपचारका लागि स्वास्थ्य चौकी, क्लिनिक र अस्पताल भए पनि आँखाको उपचारका लागि पोखरा, काठमाडौं वा चितवन पुग्नै पर्ने बाध्यतालाई अन्त्य गर्न चाहन्थे उनी ।  समाजका लागि केही गर्ने उनको अठोटले त्यस क्षेत्रमा आँखा उपचार केन्द्र सञ्चालन गर्ने सोचलाई मूर्त रुप दियो । उनले त्यहाँका समाजसेवीहरुसंग साेचलाइ साझा गरे । सबैको सल्लाहले आँखा उपचार केन्द्र सञ्चालन गर्ने निधो भयो ।

लामो दौडधुप:

आँखाको उपचार त गर्ने तर कहाँ गर्ने ? कसरी गर्ने ? उत्तरलगायत भोटेओडारबासीलाई यही समस्याले घेर्न थाल्यो । जहाँ ईच्छा त्यहाँ उपाय भनेझैं उत्तरकुमारलाई वरीष्ठ नेत्र विशेषज्ञ तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका पूर्व निर्देशक प्रा. डा. दीपबहादुर कार्कीको याद आयो । उनीसहितको टोलीले कार्कीसंग भेट गरी सल्लाह मागे । प्रा.डा. कार्कीले उनीहरुलाइ सक्दो सहयोग गर्ने बचन दिए र हिमालय आँखा अस्पताल पोखरामा सम्पर्क गराइदिए ।

डा. कार्कीले सिफारिस गरेपछि हिमालय आँखा अस्पतालको सम्पर्कमा पुगेका उत्तर कुमारको टोलीसंग पोखराका डा. दिलबहादुर क्षेत्रीसंग सम्पर्क भयो । नेपाल नेत्रज्योति संघका उपाध्यक्ष समेत रहिसकेका क्षेत्रीले पनि सक्दो सहयोगको बचन दिए साथै सम्बन्धित वडा र नगरपालिकामा समन्वय गर्न सुझाव दिए ।

क्षेत्रीको सल्लाह बमोजिम उत्तरकुमारको टोलीले सुन्दरबजार नगरपालिकाका तत्कालीन मेयर जनकराज मिश्रसंग पनि सल्लाह गरे । मिश्रले पनि यस अभियानमा ठूलो साथ दिए । 

नभन्दै पछि हिमालय आँखा अस्पताल पोखराको टोली भोटेओडार आयो । त्यहाँको अवस्था हेरेर टोलि फर्कियो । नभन्दै त्यसको ५/७ महिनापछि हिमालयले उनीहरुको अनुरोध स्वीकार ग¥यो । आइ केयर फाउण्डेशनले हिमालय आँखा अस्पताल मार्फत ६ लाख रुपैयाँको फण्ड पठायो । अनि २०७६ मंसिर ६ गतेबाट भोटेओडार आँखा उपचार सेवा शुरु भयो ।


अहिले भोटेओडार आँखा उपचार केन्द्रमा आँखाका सबै रोगको परीक्षण, दृष्टि परीक्षण, आँखाको बहिरंग सेवा सञ्चालन भइरहेको छ । यसबाहेक आँखामा आँसु बग्ने, आँखामा मासु पलाएको, परेला फर्केको, आँखामा कसिंगर परेको र सामान्य शल्यक्रियासमेतको सेवा सञ्चालन भइरहेको छ । केन्द्रले आँखाको औषधीमा समेत १० प्रतिशत छुट दिने गरेको छ । केन्द्रका नेत्र सहायक श्रीप्रसाद ढकालले यहाँ उपचार हुन नसकेको अवस्थामा विरामीलाई परामर्शसहित हिमालय आँखा अस्पतालमा रिफर गरिने जानकारी दिए ।

ढकालका अनुसार केन्द्रले ओपिडी सेवा लमजुङ र तनहूँका विभिन्न स्थानमा गएर आँखा शिविरसमेत सञ्चालन गर्ने गरेको छ । २०७९ सालमा लमजुङ र तनहूँका विभिन्न ३० वटा विद्यालयमा शिविर सञ्चालन गरिसकेको छ । यस बर्ष पनि ३÷४ वटा विद्यालयमा शिविर सञ्चालन भैसकेको ढकालले जानकारी दिए ।

यसरी बन्यो भवनः

कृष्ण बगैंचामा आँखा उपचार केन्द्र शुरु भएपछि दैनिक १०–१५ जना त्यहाँ उपचार गराउन आउँछन् । कृष्ण बगैंचाको सानो भवनमा सेवा शुरु भएकोमा सेवाग्राहीहरुको हितका लागि ठूलै रुपमा आँखाको विभिन्न रोग र विशेषगरी मोतियाबिन्दूको शल्यक्रिया गराउन सके जिल्लाबासीको कल्याण हुने थियो भन्ने कुरा आँखा उपचार केन्द्र ब्यवस्थापन समितिका पदाधिकारीहरुबीच छलफल हुन थाल्यो । 


लमजुङमा विभिन्न स्थानमा विभिन्नि स्थानमा हिमालय आँखा अस्पताल र अन्य संस्थाहरुलेसमेत आँखा शिविर सञ्चालन गर्ने गरेका छन् । तर मोतियाविन्दू भएका विरामीलाई शल्यक्रिया गर्न पोखरा, काठमाडौं वा चितवन पुग्नुपर्छ । यसबाट उपचारमा झञ्झटिलो र खर्चिलो बनेको छ । विरामीसंग कुरुवा समेत जानुपर्दा अरु समस्या छ । यही शल्यक्रिया गराउन सके सबैलाई सुविस्ता हुने ठानेर त्यसतर्फ ब्यवस्थापन समितिले ध्यान दिन थाल्यो । 

देव गुरुङको सहयोगः

भवन बनाउन पहिलो त जग्गा चाहिने, भवनका लागि ठूलो धनराशी चाहिने तर कहाँबाट ल्याउने ? जग्गा त सार्वजनिक जग्गा पाइन सक्थ्यो, तर भवनका लागि धनराशी जुटाउन धौ धौ थियो । केन्द्रका अध्यक्ष उत्तरकुमार श्रेष्ठ भन्छन्– “भगवानले पनि तँ आँट म पुर्याउँछु भन्छन् अरे, हाम्रो हकमा पनि त्यस्तै भयो ।” यता छलफल चल्दै थियो, त्यसैबेला राष्ट्रिय योजना आयोगले यस्तै सामाजिक संघसंस्थाहरुलाई भवन निर्माणमा अनुदान सहयोग गर्ने र त्यसका लागि निवेदन दिने आशयको एउटा सूचना निकाल्यो ।  उत्तरकुमारसहितको टोली योजना आयोगमा निवेदन दिने सोच बनाएर काठमाडौं पुग्यो । काठमाडौंमा माओवादी नेता देव गुरुङसमेतको सहयोग मागे उनीहरुले । यस काममा देव गुरुङले पनि निकै ठूलो सहयोग गरे । माओवादीका उच्चस्तरीय नेता र मन्त्रीसमेत भइसकेकाले उनको योजना आयोगमा निकै राम्रो चिनजान थियो । उनी नै काम लिएर त्यहाँ पुगेपछि झनै सजिलो भयो । ब्यवस्थापन समितिले योजना आयोगमा निवेदन दियो र छनोट पनि भयो ।


नगरपालिकाको सहयोगः

भवन बनाउन छनोटमा त पर्यो, तर भवनचाहिँ कहाँ बनाउने ? अर्को समस्या थियो । ब्यवस्थापन समितिले कृष्ण बगैंचाकै सार्वजनिक जग्गामा भवन बनाउने निधोसहित सुन्दरबजार नगरपालिकामा कुरा लगे । तत्कालीन नगरप्रमुख जनकराज मिश्रले सहजै स्वीकार गरे र केन्द्रले २० बर्षका लागि पुरानो गाविसको भवन रहेको स्थानको जग्गा बार्षिक १७ हजार ५ सय रुपैयाँ तिर्ने गरी लिजमा पायो । आवश्यक कागजपत्र तयार गरी भवन निर्माणको लागि योजना आयोगमा सम्झौता भयो र भवन निर्माणको कार्य शुरु भयो ।

अहिले आँखा उपचार केन्द्रको भवन निर्माणको अन्तिम चरणमा छ । यसले सेवा दिन थालेपछि लमजुङले पनि स्वास्थ्य क्षेत्रमा ठूलै फड्काे मार्ने निश्चित छ ।


प्रतिक्रिया