सयपत्री फूलकाे खेतीः लमजुङका किसानलाइ फूल टिप्न भ्याइ नभ्याइ

तिहारले झपक्कै छोपिसकेको छ । सबै तिहार मनाउन ब्यस्त छन् । तिहारलाई फूलहरुको पर्व पनि भनिन्छ । तिहारका बेला सयपत्री, मखमली र गुर्दौलीका फूलहरुले सबैका घरहरु सजिएका छन् । 

तिहारका लागि घरमा फूल लगाउनेहरु घरकै फूल टिपेर घर आँगन सजाउँदै छन् । घरमा फूल नहुनेहरु किनेरै पनि फूलहरुले घर आँगन सजाउन ब्यस्त छन् । यही ब्यस्तताका बीच लमजुङका कतिपय किसानहरुलाई भने सयपत्री फूल टिप्नैको माचो छ ।

लमजुङको मर्स्याङदी गाउँपालिकाको मर्स्याङदी कृषि फार्ममा यस्तै चापाचाप छ । झण्डै १० रोपनी जग्गामा कर्मा ५५५ जातकाे हाइब्रीड सयपत्री फूलको खेती गरिएको यो फार्ममा झपक्क सयपत्री फूलहरु फुलेका छन् । तिहारकै लागि लक्षित गरी रोपिएका सयपत्री फुलेपछि वातावरण नै मनमोहक बनेको छ । फार्मका सञ्चालकहरुलाई यतिबेला फूल टिपेर बेच्न भ्याइ नभ्याइ छ । फूलसंगै माला उन्नेकाे हताराे उत्तिकै छ ।


कृषि फार्मका सञ्चालक अशोक सापकोटा भन्छन् । चाडपर्वका बेला अरुलाई रमाइलो हुन्छ, हामीलाई फूल टिप्नको भ्याई नभ्याई छ । आइतबार बिहानै बेसीशहरमा सयपत्री फूलको अर्डर पुर्याउन आएका सापकोटाले भने– “ याे तिहारमा फूल टिपेर भ्याइएला जस्तो छैन ।”


मर्स्याङदी कृषि फार्मका अर्का सञ्चालक नविन कुइँकेलले भने– सयपत्री फूलको मूल्य प्रतिकेजी ३५० तोकिएको छ । उनेको सयपत्रीको माला प्रतिगोटा १ सयमा विक्री भइरहेको छ । कुइँकेलले कतिपय ग्राहक फार्ममै पुगेर सयपत्री खरिद गर्ने गरेको बताए । धेरै माग गर्नेहरुलाई घर पसलमै पुर्याइदिने ब्यवस्था पनि फार्मले गरिरहेको उनले जानकारी दिए ।

याे फार्ममा अहिले ५ सय केजी भन्दा बढी सयपत्रीको फूल तयारी अवस्थामा छ । हरिबोधनी एकादशीसम्म सबै फूल बिक्री गर्ने लक्ष्य राखिएको सापकाेटा र कुइँकेलले बताए ।

मर्स्याङदी कृषि फार्ममा यो बर्ष पहिलो पटक सयपत्री फूलको खेती गरिएको हो । यसबर्ष १० रोपनी क्षेत्रफलमा रोपिएको सयपत्री अर्को बर्ष अरु बढाउने लक्ष्य राखिएको उनले बताए ।


पछिल्लो समय लमजुङमा  व्यावसायिक फूल खेती बढदै गएको छ । फूल खेतीमा रमाउनेहरु बढ्दै गएका छन् ।

यस्तैमा एक हुन मध्यनेपाल ५ गाैबासेका युवा किसान ईभन जोशी । जंगल इन्ट्राेगेटेड फार्म सञ्चालन गर्दै गरेकाे जोशीले बिगत ४ बर्षदेखि तिहार लक्षित सयपत्री फूलको खेती गर्दै आएका छन् । अघिल्लो बर्षसम्म थोरैमात्रामा सयपत्री फूलको खेती गर्दै आएका जोशीले यसबर्ष ५ रोपनी क्षेत्रफल जग्गामा सयपत्री रोपेका छन् ।


सयपत्रीका ३ हजार विरुवा रोपका जोशीकहाँ अहिले ढकमक्क सयपत्री  फूलेको छ । 

तिहारले छोपिसकेकाले उनलाई फूल टिपेर विक्री गर्न माचो छ । उनको बगैंचामा फक्रिएका फूलहरु काठमाडौं, पोखरा, दमौली बजारसम्म पुगेका छन् । अर्डर अनुसार घरघरै र गाडीमा लोड गरेर समेत फूल विक्री गरेको उनले सुनाए ।


उनी भन्छन्–“पोहोर १ लाखको फूल बेचेको थिएँ, यसबर्ष ६ लाख रुपैयाँ कमाउने मेरो लक्ष्य हो ।” जोशीले “कर्मा ५५५” र “कर्मा १११” जातका सयपत्री रोपेका छन् । यस बाहेक भारतीय जातको सयपत्री पनि रोपेका थिए, तर बीउले धोको दियो । उक्त बीउबाट राम्रो बिरुवा उत्पादन भएन ।

जाेशीले सयपत्री फूलका थुंगा फुटकरमा प्रति किलाे ५ सय रूपैयाँसम्म बिक्री गरेका छन् । हाेलसेल वा ठूलाे परिमाणमा लैजानेलाइ ३५० रूपैयाँ प्रति केजीमा विक्री गरेका छन् । सयपत्रीकाे फूलकाे माला प्रतिगाेटा १५० रूपैयाँसम्ममा विक्री भइरहेकाे छ ।

जोशीका अनुसार एउटा सयपत्रीको विरुवाबाट आधा केजीदेखि तीन केजीसम्म फूल उत्पादन गर्न सकिन्छ । यसपाली उत्पादन भएकाे फूल बेच्नका लागि जाेशीले झाेला पनि तयार पारेका छन् । झाेलामा Farm To Home, Fresh Gaubase Flower भनेर लेखेका छन् ।


कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाका अनुसार लमजुङमा अझै पनि फूलखेती ब्यवसायीक बन्न सकेको छैन । जिल्लालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यालयले फूलखेतीमा अनुदानको समेत ब्यवस्था गर्दै आएको उनले बताए । 

कार्यालय प्रमुख खतिवडाका अनुसार यस बर्ष लमजुङमा करीब १० हेक्टर क्षेत्रफलमा सयपत्रीको फूलखेती गरिएको छ । अधिकांश किसानले तिहार लक्षित फूलखेती गरेका छन् । धेरैले आफ्नो घरमा मात्र पुग्ने गरी खेती गरेका छन् भने केहीले मात्रै विक्री गर्ने उद्देश्यले खेती गरेका छन् । 

लमजुङमा ब्यवसायीक रुपमा भने बेसीशहरको रोज नर्सरीले मात्रै फूलको खेती गर्दै आएको छ । नर्सरी सञ्चालक हुमा गुरुङ ब्यवसायीक रुपमा फूल खेती गर्ने किसान हुन् । उनको नर्सरीमा सयपत्री, मखमली बाहेक अन्य विभिन्न जातका फूलहरु विक्रीका लागि राखिएका छन् । फूलबाहेक उनको नर्सरीमा फलहरुको विरुवा समेत पाइन्छ ।

तिहारका बेला काठमाडौं, चितवन, पोखरा जस्ता ठूला शहरमा फूलको माग धेरै हुन्छ । नेपाली उत्पादनले नपुगेर करोडौं रुपैयाँको फूल तिहारका बेला नेपालमा आयात हुने गरेको छ । जिल्लाभित्रै फूलको ब्यवसायीक खेती गर्न सके रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेश मै कृषिबाट मनग्य आम्दानी गर्न सकिने खतिवडाले बताए ।


प्रतिक्रिया