बेसीशहर । आर्थिक वर्ष २०७९/०८० मा डिभिजन वन कार्यालय लमजुङमा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारी पुरस्कृत भएका छन् ।
शुक्रवार कार्यालयमा आयोजित आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रममा यस बर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई कार्यालयले सम्मानपत्र दिएर सम्मान गरेको हो ।
सम्मानित हुनेमा डिभिजन वन कार्यालयका वरिष्ठ रेञ्जर प्रगति शर्मा, सव डिभिजन वन कार्यालय मध्यनेपालका बन अधिकृत अमृतनाथ आचार्य, सब डिभिजन वन कार्यालय बेसीशहरमा कार्यरत फरेष्टर कविता घलान, सव डिभिजन वन कार्यालय मर्स्याङदीका बन रक्षक कमल थापा र डिभिजन वन कार्यालयका कार्यालय सहयोगी कुशल गुरुङ छन्।
सम्मानित कर्मचारीलाई जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णवहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले खादा, अबिर र प्रशंसा पत्र प्रदान गरी पुरस्कृत गरेका थिए ।
कार्यालयको निर्देशन अनुसार वन जंगलको संरक्षण, सम्वर्द्धन, व्यवस्थापन तथा कार्यालयको कार्यसम्पादनमा उत्कृष्ट कार्य गरेबापत उनीहरूलाइअझ उत्कृष्ट कार्य गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्य सहित सम्मान गरिएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूर्णेश्वर सुवेदीले बताए ।