राेकिराखेकाे बस एक्कासी गुडेर दुर्घटना हुँदा ६ जना घाइते, एककाे अवस्था गम्भीर

बेसीशहर । चालकले राेकेर पार्किङमा राखेकाे बस एक्कासी गुडेर दुर्घटना हुँदा लमजुङमा ६ जना घाइते भएका छन् ।

बिहीबार दिउसाे पाैने तीन बजे लमजुङ सदरमुकाम बेसीशहरकाे शेरास्थित पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीकाे काउन्टरमा यात्रु चढाउन राेकि राखेकाे ना ५ ख ४०८१ नम्बरको बस एक्कासी गुडेर केही पर पुगी रूखमा ठाेक्किएर दुर्घटना भएकाे थियाे । प्रहरीका अनुसार सडककाे बायाँतर्फ राेकेर चालक बसबाट झरेका थिए । केहीबेरमै बस गुड्न थालेकाे र सडककाे दायाँतर्फकाे डिलबाट खस्नै लाग्दा त्यहाँ रहेकाे पाखुरीकाे रूखमा ठाेक्किएर अड्केकाे थियाे ।


स्थानीयका अनुसार रूख नभएकाे भए बस मजुवाखाेलामा पुथ्याे र बसभित्रका यात्रुहरूकाे ज्यान जान सक्थ्याे । प्रहरीका अनुसार दुर्घटनामा परी बसभित्र रहेका ६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये गम्भीर हुनेमा राइनास नपा-९ कुवापानीकी २२ वार्षिय मिस्मा गुरुङलाइ जिल्ला अस्पताल बेसीशहरमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएकाे छ । अन्य घाइतेहरूकाे अवस्था सामान्य रहेकाे र जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ । ड्राइभर बिनाकाे बस एक्कासी गुड्न थालेपछि मिस्मा गुरूङ आत्तिएर बसबाट हामफालेकी र साेही क्रममा उनको टाउको र घाटीमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालकलाइ नियन्त्रणमा लिइ घटनाकाे आवश्यक अनुसन्धान गरिरहेकाे छ ।

ट्राफिक प्रहरीले उक्त स्थानमा बस पार्किङ गरिराख्न निषेध गरेकाे छ । केहीबेरका लागि मात्र यात्रु चढाउन र झार्नका लागि मात्र बस पार्किङ गर्न मिल्ने भए पनि बस राेकेर चालक झरेर अन्यत्र जाँदा बस गुडेर दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया