युएनडिपीको कर्मचारी हुँ भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्ति पक्राउ

खबरकुञ्ज

बेसीशहर, पुस २० । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को कर्मचारी हुँ भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग दिलाउने प्रलोभन दिएर लमजुङका विभिन्न स्थानमा ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई लमजुङ प्रहरीले दोर्दी गाउँपालिका वडा नं. ४ बाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक रेशम बोहोराका अनुसार युएनडिपीको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्ति तथा संस्थाबाट रकम असुल्ने चितवनको खैरहनी नगरपालिका–१३ घर भएका २५ वर्षीय सुजन सिलवाललाई दोर्दी गाउँपालिका ४ बाट पक्राउ गरिएको होे । 

सिलवालले विगत केही दिनदेखि आफूलाई युएनडिपीको कर्मचारी भनी परिचय दिँदै ठगी गर्दै आएको खुल्न आएपछि प्रहरीले निगरानी गरेको थियो ।

सिलवालले लमजुङका विभिन्न वडा कार्यालय, कृषि फार्म तथा विद्यालयहरूमा पुगेर कृषि फर्ममा भौतिक पूर्वाधार विकास तथा कृषि क्षेत्रमा अनुदान सहयोग उपलब्ध गराउने प्रलोभन देखाउँदै आएको प्रहरीले जनाएको छ । यस बहानामा उनले निवेदन शुल्क, प्रतिलिपि सेवा शुल्क तथा बिभिन्न दस्तुर भन्दै किसान तथा कृषि फर्महरुसंग रकम असुली गर्दै अनुचित लाभ लिँदै हिँडेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको बोहराले बताए ।  

प्रहरीले उजुरीका आधारमा उनलाई खोजतलास गर्दा यही पुस १८ गते शुक्रबार साँझ दोर्दी–४ बाट सिलवाललाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको थियो । 

प्रारम्भिक अनुसन्धानमा सिलवालले युएनडिपीमा जागिर लगाइदिने भन्दै एकजना सहयोगी समेत राखेको खुलेको छ । उनले आफू युएनडिपीको कर्मचारी भएको भन्दै भाडाको सवारी साधन र चालकसमेत लिएर हिँड्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङले यस प्रकरणमा वा यस्तै अन्य प्रकृतिको ठगीमा परेका अन्य व्यक्ति वा संस्थाहरू भए आवश्यक प्रमाणसहित तत्काल प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया