आज हरितालिका अर्थात तीज पर्व धुमधामले मनाइँदै

बेसीशहर । आज भाद्र शुक्ल तृतीया । नेपाली हिन्दू नारीहरूले आजकाे दिन धुमधामले तीज पर्व मनाउँदै छन् । आजकाे दिन निरहार रहेर देवादिदेव महादेवको पूजा आराधना गरी मनाउने परम्परा छ ।


भाद्र शुक्ल द्वितीयाकाे राती दर खाएर तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पति नहुनेलाइ महादेव जस्तै तेजस्वी पति प्राप्त हुने र विवाहित महिलाका लागि पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएकाे पाइन्छ।   


सत्ययुगमा हिमालय पुत्री पार्वतीले श्री महादेवलाइ पति पाउन निरहार कठाेर ब्रत बसी महादेव पति पाएको विश्वासमा याे पर्व मनाउने चलन छ । शास्त्रअनुसार पार्वती श्रीमहादेवलाइ पति पाउन लालयित हुने तर उनका पिता हिमालय पर्वतले उनकाे विवाह भगवान विष्णुसंग गरिदिने तयारी गरेपछि पार्वतीका साखीहरूले उनलाइ हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिन्छन् । साेही ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवकाे पूजा आरधना गर्छिन् । पार्वतीकाे कठाेर तपस्याले खुशी भएका महादेवले अन्ततः उनलाइ दर्शन दिन्छन् र पार्वतीकाे विवाह महादेवसंग सम्भव हुन्छ । 


साथीहरूद्वारा हरण भएकी पार्वतीले देवादिदेव महादेवकाे कठाेर तपस्या गरी महादेवकाे दर्शन पाएकाे दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको शास्त्रीय मान्यता छ। 

संस्कृत भाषामा ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ सखी भन्ने हुन्छ। सखीहरूद्वारा पार्वती हरण गरिएकी हुनाले यस दिनलाइ हरितालिका भनिएकाे हाे । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाउने बरदान पाएकाले यस दिनमा व्रत बस्दा महिलाहरूकाे मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

हरितालिकाका अवसरमा आज देशभरका शिवालयहरूमा भक्तजनकाे ठूलाे घुइँचाे लागेकाे छ । काठमाडाैंकाे पशुपतिनाथ काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ।

तीज पर्वमा देवादिदेव महादेव र पार्वतीकाे पूजा अर्चना गरिनुका साथै महिलाहरू माइतीमा जम्मा भएर दुःख सुखका गीत गाउने नाच्ने चलन छ । परम्परादेखि चेलीहरूले जीवनमा भाेगेका भाेगाइहरूलाइ तीजमा गीतमार्फत ब्यक्त गर्ने चलन छ । 

प्रतिक्रिया