सरकारी र सार्वजनिक जग्गा पहिचान, फिल्ड भेरिफिकेशन र संरक्षण सम्बन्धमा पालिकास्तरीय प्रमुख एवं प्रतिष्ठित व्यक्तिहरू जिल्ला प्रशासन, जिल्ला समन्वय कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, वन कार्यालय समेतको उपस्थितिमा छलफल, अन्तरक्रिया र साझा प्रतिवद्वता गरि कार्यक्रम सम्पन्न भएको छ । केही व्यवहारिक कठिनाई बाहेक सबैकाे सार्वजनिक जग्गा संरक्षण र पहिचानमा एउटै साझा संकल्प रह्यो ।
यसै सन्दर्भमा सो कार्यक्रममा मैले राखेको सुझावहरु
१) राइनास नगरपालिकाका प्रत्येक वडामा स्थानिय बासिन्दा सरोकारवाला, नापि कार्यालय , वन कार्यालय समेतको सहभागितामा सार्बजनिक , सरकारी जग्गाहरु खोजी तथा पहिचान गरि अभिलेखिकरण गर्ने ।
२) नगरपालिकाले सार्बजनिक जग्गा संरक्षण , पहिचान र उपयोग नीति बनाउने / कार्यबिधि बनाउने ।
३) धार्मिक, ऐतिहासिक , पुरातात्त्विक र सांस्कृतिक महत्व रहेका क्षेत्र पहिचान किटान गरि ती क्षेत्रहरु मध्ये निश्चित क्षेत्रहरु नगरपालिकाले संरक्षण क्षेत्रको रुपमा नितिगत रुपमा स्विकार गरिसकेको हुनाले त्यसको संरक्षण नीति र कार्यबिधि बनाउने ।
४) विशेष उपयुक्त स्थानका सार्बजनिक जग्गाहरुलाई त्याहाँको मौलिकता सहित पार्क, उधान ,जलाशय आदि रुपमा रुपान्तरण गर्दा नगरको शोभा बढ्नुका साथै आम्दानी र स्वरोजगार समेत बृद्धि हुन्छ ।
५) प्रकृतिलाई दोहन मात्रै होइन , प्रकृतिलाई संरक्षणात्मक बिधिबाट समुचित उपयोग गर्नु पर्छ ।
६) हैसियत बिग्रेका वन क्षेत्रमा विशेष कार्ययोजना बनाई उधान, पार्क, जलाशय आदि प्रकृतिमैत्री कार्य गर्दा यसको सहि सदुपयोग भै आम्दानीको स्रोत बन्न सक्छ ।
७) राइनास नगरपालिकाको दायाँबायाँ भएका दुई ठुला नदिहरु( मर्स्याङ्दि र चम्पावती ) हाम्रा सम्पदा सम्पत्ति मात्रै होइन हाम्रो नगरपालिकाको पर्यावरणीय वातावरणीय हिसावले प्राण हुन ,जीवन धान्ने आधार हुन् । यी दुई नदिहरुको किनारामा हुने अतिक्रमण रोक्नुको साथै संरक्षण , समुचित सदुपयोगको विशेष नीति कार्ययोजना बनाउनु जरुरी छ र सिमाना जोडिएका पालिका संग सहकार्य गर्न जरुरी छ ।
८) चम्पावी निदायो , मर्स्याङ्दि लुक्दैछ ! यो राइनासको भबिश्यका लागि ठूलो चुनौती हुंदैछ । बेलैमा सोचौं र नगरपालिकाले स्पष्ट धाराणाका साथ यसमा काम गर्नु जरुरी छ ।
९) पृथ्वी हाम्रो मात्रै होइन , याहाँका जनावर पशुपंक्षी , चराचुरुङ्गी , किराफट्यङ्ग्रा वनस्पति सबैको हो । सबैले समान उपयोग गर्न पाउनु पर्छ । त्यसैले सार्बजनिक स्थलमा धारा , कुवा , पाटि पौवा, चौतारी , पोखरी हाम्रा पुर्वजले बनाएर छोडेका थिए । ती के कति बाँकी छन् कहाँ गए खोजौं , पुननिर्माण गरौं । प्रकृतिलाई सबै निजि बनाउन मिल्दैन , एकघर एक धारा भन्दा सार्बजनिक धारा र पोखरी कुवा लोप हुन लागेको छ । डांडामा बनाईएका आकाशे पोखरी बर्षादको पानी संकलन पोखरी थिए , तिनले चरिचरणमा गएका पशु बस्तु , जङ्गली जनावर , चराचुरुङ्गी लाई शुख्खामा पिउने पानी र जमिनमा पानीका मुहानको स्थायित्वका लागि रिचार्ज केन्द्र थिए । प्राकृतिक सन्तुलनताका लागि यिनको पुनर्निर्माण जरुरी छ ।
१०) नगरपालिका बनेको पनि ८ बर्ष भै सक्यो निर्वाचित जनप्रतिनिधिले काम गरेको ६ बर्ष बिति सक्यो हामी योजनाबद्ध बिकासको मार्गमा छैनौं । लक्ष्यविहिन यात्रा गर्दा गन्तव्यमा पुगिंदैन । त्यसैले लक्ष्य किटान गरौं ढिलो भैसकेको छ । हल्ला चलाउन मात्र कार्यक्रम नगरौं , कार्यनतिजाका लागि काम गरौं । यदि जागि सकेका हौं भने पाइला चालि हालौं !
" जब जागा तब सुबह " !
जय राइनास ! जय प्रकृति !