लमजुङकाे दूधपाेखरीमा तीर्थयात्रीहरूकाे घुइँचाे, पुण्य कमाइ माेक्ष प्राप्त हुने विश्वास

लमजुङ । लमजुङको धार्मिक एवं पर्यटकीय महत्वको दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन जाने भक्तजनको घुइँचो लागेको छ । 

दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ बर्षेनी जनैपूर्णिमामा सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्डमा नुहाउन जाने गर्छन् ।

लमजुङको दूधपोखरी गाउँपालिकाको वडा नं. १ मा पर्ने धार्मिक तथा पर्यटकीय महत्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा अबस्थित छ । हिमालचुली र बौद्ध हिमालको काखमा रहेको यो धार्मिक स्थल प्रचार संरक्षण, सम्बद्र्धन र प्रसारको अभावमा ओझेलमा परेको छ ।

हिमालको काखमा तीन दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थल मध्ये एक हो । गोसाइकुण्डमा जस्तै यस कुण्डलाई देवादि देव महादेवको वासस्थानको रूपमा चिनिन्छ । जनै पूर्णिमामा यो कुण्डमा पुगेर नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक जनविश्वास रहेको पाइन्छ ।


दूधपोखरीमा लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन र काठमाडौँ देखिएका तीर्थालु भक्तजनहरू नुहाउन जान्छन् । दूधपोखरीमा गएर नुहाएर पितृलाई तर्पण दिन सके भारतको काशी जान नपर्ने जनविश्वास रहेको स्थानीय ईश्वर भट्टराईले बताए ।

दूधपाोखरीलाई लमजुङ र गोरखाको सिमानाको रूपमा बगेको चेपे नदीको मुहान समेत मानिन्छ । संघीयता अघि दुधपोखरीको धार्मिक,  ऐतिहासिक र पर्यटकीय महत्वलाई बुझेर स्थानीय गाविसको नाम नै दूधपोखरी राखिएकोमा संघीयता पछि पनि यसै पोखरीको नामबाट गाउँपालिकाको नाम राखिएको छ । तर धार्मिक तथा पर्यटकीय महत्व भए पनि स्थानीय गाउँपालिकाले यसको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।


उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा रहेको दूधपोखरीको यात्रा कठिन छ । तर यात्रामा देखिने रंगीचंगी फूलहरु, विभिन्न प्रजातीका चराहरुको चिरिबिरी, र अनुपम प्राकृतिक सुन्दरताले यात्रामा थकानको महशुस हुनै दिँदैन । यहाँको यात्रामा जाँदा साथमा तयारी खानेकुरा र पानीको बन्दोवस्तचाहिँ गर्नुपर्छ । लेकको यात्रामा बास बस्नका लागि भेडीगोठहरु पनि भेटिन्छन् । यसबाहेक जंगलका ठूला ठूला रुखमुनी र ओडारमा समेत बस्ने ठाउँहरु भेटिन्छन् ।

दूधपोखरी निकै मनोरम छ । हिमालको काखमा रहेकाले यहाँ निकै जाडो पनि हुन्छ । हिमाली क्षेत्र भएकाले दूधपोखरी जाँदा लेकसम्म लाग्न सक्छ । त्यसैले चर्को हिँडाइ उपयुक्त हुँदैन । विस्तारै विस्तारै हिँड्नुपर्छ ।


दूधपोखरी जानका लागि लमजुङको पाउँदीबजारबाट राइनासकोट, प्यारजुङ, गौंडा, कोल्की, इलमपोखरी हुँदै जानुपर्छ । इलमपाोखरीसम्म जाने गाडी पनि पाइन्छ । त्यहाँ भन्दा माथि भने पैदलै यात्रा गर्नुपर्छ । 

दूधपोखरीमा पदयात्राका लागि स्पष्ट मार्ग समेत नभएकाले बाटो बिराउने सम्भावना बढी हुन्छ । त्यसैले दूधपोखरीको यात्रा एक्लै गर्न सकिन्न र हुँदैन पनि । समूहमा यात्रा गर्नुपर्छ । स्थानीय पथ प्रदर्शकहरुको सहयोग लिनुपर्छ ।

सामाजिक अभियान्ता तथा पर्यटनविद् कृष्णराज ओलियाका अनुसार दूधपोखरी च्यवन ऋषिको तपोभूमि हो । यस पोखरीको लस्करै नारदपोखरी, मेमेपापेखरी, बाह्रपोखरी एकै परविारको रुपमा रहेका छन् । यो क्षेत्र कुण्डै कुण्डको क्षेत्र हो । सबै कुण्डहरु मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन् । यहाँको भेडीगोठ संस्कृतिका साथै तामाङ, गुरुङ ब्राह्मणहरुको संस्कृति अनुकरणीय छ ।


प्रतिक्रिया