बेसीशहरकाे एक घरबाट दिनदहाडै १२ ताेला सुनका गहना चाेरी

बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरकाे एक घरबाट दिनदहाडै १२ ताेला सुनका गहना चाेरी भएकाे छ । बेसीशहरकाे वडा नं. ८ मा रहेकाे न्यू इरा बाेर्डिङ स्कूलकाे पछाडि रहेकाे शम्भुप्रसाद घिमिरेकाे घरबाट मंगलबार दिउसाे ती गहना चाेरी भएका हुन् ।

मंगलबार दिउसाे घिमिरेकाे घरबाट सुनकाे रानीहार १ थान,, मिनी हार १ थान, २ थान सुनकाे बाला, सिक्री १ थान, छड्के तिलहरी १ थान, तिलहरी १ थान, कानमा लगाउने सुनकाे टप ४ थान, सुनकाे औंठी २ थान र चन्द्रमाकाँटा लगायतका गहनाहरू चाेरी भएकाे घिमिरेले बताए ।

घिमिरे बेसीशहर नगरपालिकाका अधिकृत हुन् । उनकी श्रीमती बालकुमारी घिमिरे जनविकास मावि बेसीशहरकी शिक्षिका हुन् । घिमिरे कार्यालयमा र उनकी श्रीमति बालकुमारी शिक्षक महासंघकाे नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाइमा भएकाे धर्नामा गएकाे माैका पारी घरमा चाेरी भएकाे थियाे । घरकाे गेटमा छाेडिएकाे चापी लगेर घिमिरे दम्पत्ती बस्ने फ्लायटका सबै ढाेका खाेली काेठाभित्र दराजमा राखिएका गहना चाेरी गरिएकाे पाइएकाे हाे ।

बेलुकीपख घिमिरे दम्पती घरमा आउँदा फ्ल्याटका सबै ढाेका खुल्लै थिए । घरमा चाेर पसेकाे शंका लागि महत्वपूर्ण सामानहरू राखिएकाे दराजमा हेर्दा सबै गहना चाेरी भएकाे भेटिएकाे घिमिरेले खबरकुञ्जलाइ बताए ।

घिमिरेका अनुसार घरकाे भूँइतला र सिरान तला भाडामा दिइएकाे छ । भाडामा बस्नेहरू पनि दिउसाे घरमा नभएकाे माैका पारी २ देखि ५ बजेकाे बीचमा घरबाट गहनाहरू चाेरी भएका हुन् । घरमुली दुवैजना जागिरे भएकाले ५ बजे अघि घर नजाने र काेठामा बस्नेहरू पनि २–५ काे समयमा घरमा नहुने मेसाे पाएकाे कसैले चाेरी गरेकाे हुन सक्ने खबरकुञ्जसंगकाे कुराकानीमा घिमिरेले बताए ।

चाेरी भएका गहनाकाे प्रचलित बजार मूल्य अनुसार १२ लाख भन्दा बढी पर्छ । घरका सबै सुनका गहना चाेरी भएपछि घिमिरेले बुधवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । यस सम्बन्धमा गहन अनुसन्धान शुरू गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकास श्रीमलले बताए ।



प्रतिक्रिया