काठमाडौं । गोल मेसिनको नामले चिनिने नेपालको महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी युरोपियन लिग खेल्न इजरायल प्रस्थान गरेकी छन् ।
उनी आज बिहान त्रिभुवन बिमानस्थलबाट इजरायलको लागि प्रस्थान गरेकी हुन् । इजरायलको हापोएल रानानामा अनुबन्ध भएकी उनी युरोपियन महिला लिग खेल्न त्यसतर्फ लागेकी हुन् । उनी युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी समेत हुन् ।
हापोएल रानाना इजरायलको पहिलो श्रेणीको क्लब हो । हापोएल रानानाको महिला फुटबल टोलीको आधिकारिक फेसबुक पेजमा पनि सावित्रालाई स्वागत गरिएको छ । २७ वर्षीया सावित्रा नेपाली फुटबल समर्थकमाझ ‘साम्बा’ उपनामले पनि परिचित छिन् । लमजुङको सिम्पानीमा जन्मेकी उनी बिभागीय टीम एपिएफमा समेत सामेल छन् ।
इजरायल एसियन राष्ट्र भए पनि सन् १९९१ देखि युरोपेली फुटबल संघको सदस्य रहेको छ। इजरायलले एसियाली फुटबल महासंघको सट्टा युरोपेली फुटबल संघमा सामेल भएको छ।