बेसीशहर, असार २३ । लमजुङको राईनास नगरपालिका वडा नंं ८ हर्राबोटमा रहेको धर्मनाथधाममा यही आउँदो साउन महिनामा बोलबम धार्मिक मेला हुने भएको छ ।
हरेक वर्ष साउन महिनाको सोमबार शिवालयहरुमा बोलबम आयोजना हुने गरेकोमा यस बर्ष धर्मनाथ धामको रुपमा विकास हुने क्रममा रहेको सर्वोदय सेवाश्रममा बोलबम आयोजना हुन लागेको हो । यही साउनको पहिलो सोमबार साउन ५ गते लमजुङमै पहिलोपटक धर्मनाथ धाममा बोलबम आयोजना हुन लागेको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले जानकारी दिए ।

धर्मनाथ धाम तथा बोलबम यात्रा बारे जानकारी दिन सर्वोदय सेवाश्रमले हरिशयनी एकादशीका दिन आश्रममा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जिल्लामै पहिलो पटक विभिन्न जिल्लाबाट तिर्थालु भक्तजनहरु बोलबम यात्राका लागि धर्मनाथधाममा आउने जानकारी दिएको हो ।
बोलबम तीर्थयात्राले धर्मनाथ धामको प्रचारप्रसार सँगै धार्मिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्दै ओलियाले सर्वोदय सेवाश्रमको मानवीय सेवासँगै आश्रमलाई धर्मनाथ धाम बनाउन विभिन्न धार्मिक संरचनाहरुको निमार्ण गरिएको जानकारी दिए ।
बोलबम यात्राका लागि बोलबम राष्ट्रिय समितिका अध्यक्ष दिपेन्द्र तिवारी र पूर्व सांसद सनातन ज्ञानविज्ञानका अभियान्ता शंकरप्रसाद पाण्डेको नेतृत्वमा देशका विभिन्न स्थानबाट करिब ८० जना भक्तजनको टोली साउन ४ गते नै धर्मनाथधाममा आउने ओलियाले जानकारी दिए ।
आउँदो साउनका चारवटै सोमबार धर्मनाध धाममा रहेका १०८ धारामा स्नान, पूजाअर्चना, कथावाचन, भजन किर्तन सहित शिवलिङ्गमा जलार्पण लगायत धार्मिक अनुष्ठानका कार्यक्रम गरिने आश्रमका अध्यक्ष सुकदेव रिसालले बताए ।
खबरकुञ्ज