काठमाडाैं, भदाै ३० गते । काठमाडौंको तीनकुनेमा गएराती चार जनाको सामूहिक हत्या भएको छ। हत्या हुनेमा एकै परिवारका तीनजना परेका छन् ।
काठमाडौं महानगरपालिकाकाे वडा नं. ३२ मा रहेकाे दिव्य स:मिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार चारै जनालाइ धारिलाे हतियार प्रहार गरेर हत्या गरिएकाे छ । गएराती करीब साढे ११ बजे हत्याकाे सूचना पाएपछि प्रहरी घटनास्थल पुगेकाे थियो।
हत्या हुनेमा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने अन्दाजी ५६ बर्षका कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ बर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ बर्षकी शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई छन् ।
घटनामा संलग्न भएकाे शंकामा २८ वर्षीय दीपेन्द्र राईलाइ प्रहरीले पक्राउ गरेको छ। लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । हत्याकाे कारण भने खुलेकाे छैन ।
प्रहरीले अहिले चारै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइ घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।