राईनास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

खबरकुञ्ज

बेसीशहर, असार १० । निर्माण सम्पन्न भएको लामो समयपछि राईनास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन सोमबार उद्घाटन गरिएको छ । भवन निर्माण भई कार्यालय सञ्चालन भएको एक बर्षपछि भवनको औपचारिक उद्घाटन गरिएको हो ।

सोमबार आयोजित विशेष समारोहबीच नगरप्रमुख खडगबहादुर गुरुङले भवनको उद्घाटन गरेका हुन् । २०७४ सालमा तत्कालीन नगरप्रमुख सिंहबहादुर थापाले शिलन्यास गरेका उक्त भवन २०७८ सालभित्रै सकिनु पर्नेमा ठेकेदारको लापार्वाहीले काममा ढिलाइ भइ २०८१ जेठमा मात्र निर्माण कार्य सम्पन्न भई कार्यालय सञ्चालन हुन थालेको थियो ।


प्रशासकीय भवनको उद्घाटन गर्दै नगरप्रमुख गुरुङले कर्मचारी तथा जनप्रतिनिधिहरुको कार्य सम्पादन र सेवाग्राहीको सेवा प्रवाहमा सुधार आएको बताए । उनले यस अघि सेवाग्राहीलाई विभिन्न ठाउँमा छरिएर रहेका नगरपालिकाका विभिन्न शाखाबाट सेवा प्रवाह हुँदा झञ्झटिलो हुने गरेकोमा नयाँ प्रशासकीय भवन बनेपछि एकै ठाउँबाट सबै काम छिटो छरितो हुने गरेको बताए ।


भवन उद्घाटन कार्यक्रममा भवनका लागि जग्गा दिने दाताहरुलाई सम्मान गरिएको थियो । जग्गादाताहरु रविन्द्र कुमाल, टकबहादुर कुमाल, सुर्यप्रसाद भट्ट, कमलीकान्त भट्ट, ज्ञानुमाया भट्ट, भुन्टीमाया भट्ट, मेखराज भट्टसहित पूर्व नगरप्रमुख सिंहबहादुर थापा, निर्माण ब्यवसायी शक्ति श्रेष्ठ, पूर्व वडा अध्यक्षहरुलाई नगरप्रमुख गुरुङले सम्मान गरेका थिए ।


राईनासका नगर उपप्रमुख पुष्पराज खनालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगर प्रवक्ता तथा वडा नंं ६ का वडाध्यक्ष गोविन्द चिलुवाल, नेपाली कांग्रेस राईनास नगर कार्य समितिका सभापति श्रीकृष्ण पौडेल, नेकपा एमालेका जिल्ला कमिटी सदस्य जीवन सिर्मल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रमोद दवाडी, राप्रपाका नगर अध्यक्ष शिवप्रसाद पोखरेल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष मातृका खनाल, नगरपालिकाका प्रथम प्रशासकीय अधिकृत नुरराज कडरिया लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले भवन निर्माणको विस्तृत विवरण प्रस्तुत गर्दै भवन ४ करोड २३ लाख रुपैयाँ लागतमा निर्माण भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया