बेसीशहर । शनिबार राती लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नंं ७ स्थित मर्स्याङदी नदीमा खसेर बेपत्ता भएका ध १ ख ३७२ नम्बरकाे बसका चालक खेमबहादुर भुजेलकाे शब मर्स्याङदी नदीमा फेला परेकाे छ ।
![]()

मर्स्याङदी गाउँपालिकाकाे वडा नंं ९ मा पर्ने ग्रामीण तालिम केन्द्रकाे कार्यालय नजिकै मर्स्याङदी नदीकाे बीचमा आइतबार अज्ञात ब्यक्तिकाे शब देखिएकाे थियाे । नदीको बिचमा ठूला ठूला ढुङ्गाकाे बीचमा अड्किएको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । मर्स्याङदी नदीमा पानीकाे बहाब तीब्र भएकाले आइतबार शब निकाल्न नसकिएपछि चितवनकाे कुरिनटारबाट सशस्त्र प्रहरीका ९ जना गाेताखाेर झिकाइएकाे थियाे ।


नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र गाेताखाेरसहितकाे टाेलिले साेमबार बिहान ११.३० बजे नदीबाट शब निकालेकाे सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म लमजुङका शसस्त्र प्रहरी नायव उपरीक्षक खेमनाथ शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले शब बेपत्ता भएका बस चालककाे नै भएकाे पुष्टि भएकाे र हाल उक्त शबलाइ पाेष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएकाे जानकारी दिए ।

शनिबार राती मर्स्याङदी गाउँ पालिकाको वडा नं. ७ मा पर्ने बालुवा पहिरो नजिक ध १ ख ३७२ नम्बरको बस नदीमा खस्दा बसचालक चितवनको भरतपुर मानपा– १३ घर भइ हाल मर्स्याङदी गाउँपालिकाकै ङादीबजारमा बस्दै आएका भुजेल बेपत्ता भएका थिए । नदीमा खसेको बस आइतबार स्काभेटरको सहायताले निकालिएको थियाे ।
मिलन शर्मा दनाई