लमजुङकाे मध्यनेपाल नगरपालिकाका विभिन्न वडामा असिना पानीले मकै र तरकारी बालीमा ब्यापक क्षति पुर्याएकाे छ । शुक्रबार आएको असिना पानीले वडा नं १ को जीताकाेट, वडा नंं २ काे तान्द्राङ टक्सार र वडा नंं ३ काे सुर्यपालका विभिन्न स्थनमा लगाइएकाे मकै तथा तरकारी बाली साेत्तर बनाएकाे हाे ।
गत शुक्रबार करीब डेढघण्टासम्म परेकाे फुकाे असिनाले दुःख गरेर लगाएकाे मकैबाली ध्वस्त भएपछि किसानहरू चिन्तामा परेका छन् । बाली लगाएर भित्र्याउने अाशामा रहेका किसानहरू असिनापानीले कामै नलाग्ने गरी बाली नष्ट गरेपछि राहतकाे पर्खाइमा रहेका स्थानीय बाल विकास माविका शिक्षक माेहन घिमिरेले जानकारी दिए ।
असिनाले मकैका पात सबै झारेर डाँठ मात्र बाँकी छ । यस्ताे अवस्थामा मकै पुन पलाएर किसानले बाली भित्र्याउन पाउने सम्भावना निकै कम छ ।
मध्यनेपाल नगरपालिकाकाे कृषि शाखाले भने क्षतिकाे विवरण नगरपालिकामा नअाएकाे बताएकाे छ । नगरपालिकाकाे कृषि शाखाका प्रमुख विपिन अधिकारीले अाफूले केही ठाउँमा असिनाले क्षति भएकाे देखे पनि नगरपालिकाकाे कृषि शाखामा क्षति भयाे भनि काेहीले खबर नगरेकाे बताए । उनले भने– 'ठूलाे भएका मकैकाे बाेटमा खासै क्षति छैन, गाउँघरमा लगाइएकाे पछाैटे मकैमा क्षति भएकाे हुनसक्छ ।'
शुक्रबार मध्यनेपालकाे जीता, सुर्यपाल र तान्द्राङ टक्सारका विभिन्न क्षेत्रमा डेढघण्टा लगातार असिना परेपछि थप दुइघण्टा मुसलधारे बर्षा भएकाे थियाे । बर्षाका कारण अाएकाे भलले त्यस क्षेत्रका ग्रामीण सडकहरूमा निकै क्षति पुगेकाे छ ।