कृषि, पशु र वातावरण प्रबर्द्धनका लागि सुन्दरबजार नगरपालिका र लमजुङ क्याम्पसबीच सहकार्य हुने

खबरकुञ्ज

बेसीशहर, फागुन १० गते । लमजुङको सुन्दरबजार नगरपालिकाभित्रका किसान तथा समुदायका लागि कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि प्रसार र समुदायबीचको कार्यगत सम्बन्ध अभिबृद्धि गरी कृषि, पशु र वातावरण क्षेत्रका प्रबद्र्धनका लागि सुन्दरबजार नगरपालिका र लमजुङ क्याम्पसबीच सहकार्य हुने भएको छ ।

नगरपालिकाको तर्फबाट नगरप्रमुख कृष्णप्रसाद कोइराला र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा रामकुमार श्रेष्ठले सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नगरपालिकाका जनप्रतिनिधि र क्याम्पसका पदाधिकारीको रोहबरमा पाँच बर्षका लागि गरिएको उक्त समझदारीपत्रमा विभिन्न १४ वटा बुँदा समावेश छन् । 


जस अनुसार कृषि अनुसन्धान, कृषि प्रसार र कृषि शिक्षा लगायतका क्षेत्रहरुमा नगरपालिका, क्याम्पस र कृषकहरु बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्राध्यापक तथा विद्यार्थीहरु परिचालन गर्ने समझदारी भएको छ । नगरपालिका, कृषि विकास शाखा, वडा कार्यालय, कृषि समुह, सहकारी तहहरुमा कृषि योजना तर्जुमा सम्बन्धी क्षमता अभिविद्धि गर्ने, नगरपालिका, वडा, सहकारी तहका कृषि प्राविधिक तथा अगुवा कृक्षकहरुलाई कृषि र पशुपालन सम्बन्धी तालिम प्रदान गर्ने, कृषि क्षेत्र लगायतका बिबिध उन्नत प्रविधिहरुको नमूना प्रर्दशनी गर्ने समझदारी पत्रमा उल्लेख छ ।

सुन्दरबजार क्षेत्रमा एकीकृत कृषि, पशु बाँझोपन उपचार शिविर संचालन तथा प्राविधिक परामर्श सेवा प्रवाह गर्ने, प्रयोगशालामा माटोको परीक्षण, विश्लेषण तथा मलखादको सिफारिस सम्बन्धी परामर्श सेवा प्रवाह गर्ने,  बालीमा लाग्ने रोग, किरा, अन्य व्यवस्थापकीय समस्याहरुको प्रयोगशाला पहिचान, बिश्लेषण र व्यवस्थापन सम्बन्धी परामर्श सेवा प्रदान गर्ने सम्बन्धमा पनि समझदारी भएको सुन्दरबजारका नगरप्रमुख कृष्ण कोइरालाले जानकारी दिए ।

सझदारी अनुसार पशुमा रोगका वारेमा प्रयोगशालामा पहिचान गर्ने र अन्य व्यवस्थापकीय समस्याहरुको बारेमा परामर्श सेवा प्रदान गर्ने, स्थानीय स्तरका जैविक विविधता, औषधीय वनस्पति, स्थानीय ज्ञान, रैथाने बाली, अध्ययन, अभिलेखिकरण, सरक्षण तथा प्रोत्साहन कार्यक्रम सञ्चालन हुनेछ । त्यस्तै कृषि प्रसारका लागि विविध प्रकाशन, अभिमूखिकरण, तालिम, कार्यशाला, गोष्ठि, सेमिनार, अभियान आदि सञ्चालन गरिने छ ।

विद्यालयमा कृषि उत्पादन र असल खानेबानी विकास सम्बन्धी कार्यक्रम संचालन गर्ने, रैथाने बालीबाट बन्ने परिकारचारे प्रचार प्रसार गर्ने पनि समझदारी भएको छ ।

उपरोक्त कार्यका लागि आवश्यक बजेट व्यवस्था सुन्दरबजार नगरपालिकाले गर्नेछ । यसमा लमजुङ क्याम्पसको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराउने द्विपक्षीय समझदारी भएको नगरप्रमुख कोइरालाले जानकारी दिए ।

समझदारी पत्रमा भएको सहमतिको सहजिकरणका लागि नगरप्रमुख कोइरालाको संयोजकत्वमा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, लमजुङ क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, सुन्दरबजार नगरपालिका योजना शाखा प्रमुख र कषि विकास शाखा प्रमुख सदस्य रहने गरी समन्वय समिति गठन गरिएको छ । 

प्रतिक्रिया