बेसीशहर, चैत १ । २५औँ राष्ट्रिय लोक दोहोरी दिवसको अबसरमा लमजुङमा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा लमजुङले सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित भक्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विशेष कक्षाका विद्यार्थीलाई शुक्रबार १० हजार रुपैयाँ बराबरका सामग्री प्रदान गरेको हो ।
कार्यक्रममा विद्यार्थीका लागि कापी, कलम, पेन्सिल, झोला लगायत शैक्षिक सामग्री वितरण गरिनुका साथै फुटबल, भलिबल एक–एक थान, ब्याडमिन्टन दुई थान र कप एक बक्स विद्यालयलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रमको सुरुवात अग्रज ठाडोभाका गायिका नन्दमाया दुराले ठाडोभाका गाएर सुरुवात गरेकी थिइन्। यस्तै, ठाडोभाका गायिका देउकुमारी गुरुङले पनि सो अवसरमा ठाडोभाका गाएकी थिइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमबहादुर भुजेल, विशेष कक्षाका स्रोत शिक्षक प्रेमनिधि सापकोटा, सुनिल आले र धनबहादुर मालुवा लगायतको उपस्थिति थियो।
त्यसैगरी प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङ, पूर्वअध्यक्ष तथा संरक्षक अनुज अधिकारी, सल्लाहकार कीर्तिमान गुरुङ, आजीवन सदस्य निलकुमारी श्रेष्ठ, लक्ष्मीप्रसाद मिश्र तथा अन्य पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।
सो अवसरमा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा संरक्षक अनुज अधिकारीले प्रतिष्ठानको स्थापना, हालसम्म गरिएका गतिविधि तथा लमजुङले लोकगीत–संगीतको क्षेत्रमा पुर्याएको योगदानबारे जानकारी दिएका थिए।
कार्यक्रमको अध्यक्षता गर्दै प्रतिष्ठानका अध्यक्ष तामाङले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्थापना भएको २५ वर्ष पुगेको अवसरमा देशभरका शाखाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय लोक दोहोरी दिवस मनाएको बताए ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव चित्र दुराले गरेका थिए। कार्यक्रममा ठाडोभाका, लोकदोहोरी तथा एकल गायन समेत प्रस्तुत गरिएको थियो।
भक्ति नमुना माध्यमिक विद्यालयमा फरक क्षमता भएका (कान नसुन्ने र मुख नबोल्ने) विद्यार्थीका लागि आवाससहित निःशुल्क कक्षा ५ सम्म विशेष कक्षा सञ्चालन हुँदै आएको छ ।
खबरकुञ्ज