आजबाट पितृपक्ष अर्थात सोह्र श्राद्ध शुरु

खबरकुञ्ज

लमजुङ, भदौ २३ । आजबाट पितृपक्ष अर्थात सोह्र श्राद्ध विधिवत रुपमा शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्रश्राद्ध शुरु हुन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । सोह्रश्राद्धको आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गरिँदै छ । 

वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने गरिए अनुसार सोह्रश्राद्ध गरिन्छ । सोह्रश्राद्धमा पितृले बंशजबाट तर्पण र पिण्डको आश गर्छन् भन्ने वैदिक सनातन शास्त्रीय मान्यता रही आएको छ ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ र पितृपक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचन रहि आएको छ । शास्त्र अनुसार सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने परम्परा छ ।

सोह्र श्राद्ध आफ्ना पिताको तिथिमा गर्नुपर्ने धार्मिक विधान छ । कुनै कारणवश पिताको तिथिमा श्राद्ध गर्न नसकिए हजुरबुबाको तिथिमा श्राद्ध गर्ने चलन छ ।

पितृ पक्षको समाप्तिसँगै बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको हो

प्रतिक्रिया