२ हजार दर्शकले हेरे "एक चिहान", लमजुङे दर्शकले गरे सरहना

खबरकुञ्ज

बेसीशहर, भदौ १ गते । वितेका ४ दिन बेसीशहरको बरण्डा रेष्ट्रो एण्ड इभेण्टस्को हल देशका नामी नाटकघर भन्दा कम्तीको रहेन । मञ्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुतिमा साहित्यकार हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ भब्य रुपमा मञ्चन गरियो ।

साउन ३० गतेदेखि ३२ सम्म दैनिक तीन शो र भदौ १ गते २ शो गरी करीब २ हजार दर्शकले नाटक अबलोकन गरे । कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समेत समावेश भएको एक चिहानको नाटकीय रुपान्तरलाई लमजुङे दर्शकले निकै सरहना गरेका छन् । शनिबार नाटक हेर्न आएका चन्द्रोदय मावि बाहुनडाँडाका शिक्षक देवराज अधिकारी र गणेश मावि सिम्पानीका शिक्षक महेन्द्र भुजेलले नाट्य रुपान्तरण र अभिनयको सरहना गरे ।

साहित्यकार हृदयचन्द्रसिंह प्रधानको सामाजिक यथार्थवादी कथावस्तु रहेको यो नाटकमा एक गरिब किसान र मजदुरको परिवारको कथा समावेश छ । गरीब किसान र मजदुरहरुको जीवनमा आइपर्ने दुःख, जटिलता, जीवन संघर्ष नाटकमा देखाइयो । 


२०११ सालको सेरोफेरोमा काठमाडौंका नेवारी समुदायका निम्न वर्गीय किसान परिवारको जीवन संघर्षको कथा हो एक चिहान । नाटकमा आजभन्दा ७० बर्ष अघिको परिवेश देखाइए पनि नेपालका ग्रामीण वस्तीहरुमा अझै पनि यस्तै परिवेश छँदैछ । गरिबहरुको बाध्यता र विबशतामा धनीहरुले कसरी लाभ लिन खोज्छन् ? गरिबका छोरीहरुमाथि धनीहरुले कसरी गिद्दे दृष्टि लगाउँछन् ? एकतिरबाट सहयोग गर्न खोजेजस्तो गरेर फाइदा लिन खोज्ने समाजका ठालु वर्गको चरित्र चित्रणसमेत नाटकमा गरिएको छ ।


निम्न वर्गीय किसान जो जीवनभर दुःख गरेर आफ्नो उपचार गर्न सक्दैन, आफ्नो उपचारका लागि ऋण काढेर छोरा नानीसम्मलाई ऋणमा चुर्लुम्म डुबाउन हुँदैन भन्ने मान्यता बोक्ने अष्टनारायण विरामी भएर थलिएको दृष्यबाट नाटको शुरुवात हुन्छ । थला परेर ओछ्यानमा परेका उनलाई सञ्चो बनाउन श्रीमति, छोराछोरी र बुहारीहरुले गरेको प्रयासले मन छुन्छ ।

योसंगै श्रीमति, छोरा छोरी र बुहारीहरुलाई मर्न लागेका अष्टनारायणले सम्झाएको र अर्ती उपदेश दिएको वाक्यले दर्शकलाई भावुक बनाउँछ ।

थला परेका अष्टनारायणको मृत्यु हुन्छ । तर काजकिरीया गर्न परिवारसंग पैसा नहुँदा र गाउँलेहरुले लास उठाउन भन्दा पनि परिवारले पर्खाएको दृष्यले दर्शकको आँखामा आँसु ल्याइदिन्छ ।

नाटकमा अष्टनारायणको मृत्यु पछि जेठा छोरा शिवनारायणमाथि परिवारको भार आइलाग्छ । बाबुको उपचार र काजकिरीयामा लागेको ऋणको बोझले उनलाई थिचेको छ । 


नाटकमा अष्टनारायणकी छोरी भर्खर बैंशमा टेकेकी नानीथुकु र डाक्टरको प्रेमकहानी पनि कम्ती रोचक छैन । बिरामी भएर थलिएका अष्टनारायणलाई जँचाउन पुगेका डाक्टर गोदत्तप्रसादको गिद्देनजर अष्टनारायणकी छोरी नानीथुकुमाथि पर्छ । घरमा श्रीमती हुँदा हुँदै उसले नानीथुकुलाई फसाउँछ । पछि परिवारले थाह पाएपछि नानीथंकुलाई केरकार र सम्झाइ बुझाइ गर्छन् । पछि गोदत्तप्रसादकी श्रीमतिका कुराले नानीथुकुको मन परिवर्तन हुन्छ र परिवारको सहमतिमा मधेसी मूलका दुलाहसंग उनको विवाह हुन्छ । यसबीचमा गाउँको सुब्बा पनि उनलाई पाउन मरिहत्ते गरेकाे हुन्छ ।


नाटकमा जातीय एकताको भाव पनि छ । अष्टनारायणका बुहारीहरु विभिन्न जातका छन् र छोरीको मधेसीसंग विवाह भएको छ । नाटकमा किसानका कथा छन् । असारे भाका गाउँदै खेत रोपेको, हिलो खेलेको अभिनय नाटकमा छ । 


नाटकको अन्त्य भने वियोगात्मक छ । दुखजिलो गरेरै भए पनि शिवनारायणको परिवारले खेत रोप्छ, गोडमेल गर्छ, तर अन्त्यमा आँधीवेरी सहितको भीषण बर्षाले आएको बाढीमा परेर परिवार सबै बगाउँछ । यो दृष्यले दर्शकलाई आँसु झार्न बाध्य बनाउँछ ।


सशक्त कथामा जीवन्त अभिनय छ नाटक एक चिहानमा । नेवारी पोशाक र नेवारी लबजले नाटकलाई थप जीवन्त बनाएको छ । कतै दुःख, कतै सुख, कतै रमाइलो पनि छ । हिजो आज बिरलै देख्न पाइने संयुक्त परिवारको, माया र एकताका साथमा कर्तब्य पनि देखाउँछ नाटकले ।

डेढ घण्टाको नाटकमा समय सकिएको दर्शकले पत्तै पाउँदैनन् । नाटकमा दृष्य र प्रकासको संयोजन पनि गज्जबको देखियो ।


नाटकका प्रत्येक पात्रले सशक्त अभिनय गरेका छन् । अष्टनारायणको भूमिकामा जनक पराजुली र उनको पत्नीको रुपमा रोशनी रामदामको अभिनय छ । शिवनारायणको रुपमा रविन्द मल्ल, नानीथुकुको रुपमा दिप्सना विक र डाक्टरका रुपमा परिवर्तनको अभिनय गज्जबको छ । 


२० जना कलाकार सहभागी नाटकमा मञ्जरी नाट्य समूह र पोखरा थिएटरका कलाकारहरुको संयुक्त प्रस्तुति रहेको नाटकका संयोजक तथा मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोराले बताए । 

उपन्यासको रुपमा रहेको ‘एक चिहान’को नाट्य रूपान्तरण तथा निर्देशन परिवर्तनले गरेका हुन् । उनी पोखरा थिएटरका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया