प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट १ स्वतन्त्रसहित १२ जनाकाे उमेदवारी

मिलन शर्मा दनाई

बेसीशहर, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा १२ जना उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङमा एक स्वतन्त्रसहित १२ जनाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, जनादेश पार्टी नेपाल र नेशनल रिपब्लिक पार्टीले लमजुङबाट उमेदवारी दर्ता गराएका छन् ।


नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङले उमेदवारी दर्ता गराए । पार्टीका नेताहरु दीलबहादुर घर्ती, जिल्ला सभापति तथा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङ, वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङसहितका नेता कार्यकर्ताका साथ पार्टी कार्यालयबाट जुलुससहित उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उमेदवारी दर्ता गराए ।

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि लमजुङबाट उमेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्य उमेदवारका आकांक्षी केन्द्रीय सदस्य जमीन्द्रमान घले, कृष्णप्रसाद अधिकारी, टुकाभद्र हमाल, यशोदा रिमाल, केन्द्रीय लेखा आयोगका सदस्य मायानाथ अधिकारी, जिल्ला कमिटीका अध्यक्ष राजकुमार विष्टसहितका नेता कार्यकर्ताको साथ नाराजुलुसका साथ गएका गुरुङले जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उमेदवारी दर्ता गराएका हुन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धर्मराज के.सीले लमजुङबाट प्रतिनिधि सभा सदस्य उमेदवारको रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । बेसीशहरको मनाङे चौताराबाट जिल्ला सभापति अशोक सापकोटा, नेताहरु निर्देश सिलवाल, पदमराज पन्थीलगायत नेता कार्यकर्ताको साथमा जुलुसमा सहभागी हुँदै के.सीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उमेदवारी दर्ता गराए ।


नेपाली कम्युनिष्ट पार्टीको उमेदवारका रुपमा हरिजंग तामाङले मनोनयन पत्र दाखिला गरेका छन् । पार्टीका नेताहरु पारसमणी पौडेल, देवेन्द्र पराजुली, उर्मिला माझी, लालबहादुर गुरुङ, हिमकुमारी विक, मधु अधिकारी गुरुङसहित नेता कार्यकर्ताको साथमा नारा जुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट केविन्द्रजंग गुरुङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ता गराउन गएका राप्रपाका नेता कार्यकर्तासहितको जुलुसले बेसीशहर बजार परिक्रमा समेत गरेको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोला, नेपाल मजदुर किसान पार्टीको तर्फबाट गुजेश्वरी प्रजापति मगजु, मंगोल नेपाल अर्गनाइजेशनबाट विकास गुरुङ, श्रम संस्कृति पार्टीबाट कोशलाल गुरुङ, नेशनले रिपब्लिक नेपालबाट भरत गुरुङ र जनादेश पार्टी नेपालबाट मिलन बास्कोटाले उमेदवारी दर्ता गराएका छन् ।

पार्टीका उमेदवारहरु नेता कार्यकर्ताको भीडसंगै नाराबाजीका साथ उमेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पग्दै गर्दा लमजुङमा एक ३५ बर्षिय युवा सन्तोष घिमिरेले भने स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. १ जीताका घिमिरेले जिल्लाको समग्र विकासमा भूमिका खेल्ने भन्दै स्वतन्त्र उमेदवारी दिएका हुन् ।

प्रतिक्रिया