लमजुङमा मतदान केन्द्रमा खटिने कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सामग्री बुझे

खबरकुञ्ज

बेसीशहर, फागुन १८ गते । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङ जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने कर्मचारीले नियुक्तिपत्र बुझेका छन् । बेसीशहरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीले नियुक्तिपत्र बुझेका हुन् । 

लमजुङ जिल्लामा एकसय ३० वटा मतदान स्थलमा १ सय ९२ मतदान केन्द्र कायम गरिएको छ । हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीनजना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी र सुरक्षाकर्मीको ब्यवस्था मिलाइएको छ ।  ५ सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा स्वयंसेवकसहित ९ जना र ५ सय भन्दा कम मतदाता रहने मतदान केन्द्रमा ८ जना कर्मचारीको व्यवस्था गरिएको छ ।


निर्वाचनका लागि लमजुङमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित कुल १ हजार १ सय ५२ जना कर्मचारी र सहायक कर्मचारीहरु खटिएका छन् । उनीहरुले आइतबार र सोमबार नियुक्तिपत्र र निर्वाचन सामग्री बुझेका छन् ।

निर्वाचनमा खटिएका १ हजार १५० जनशक्तिमध्ये १ सय ४० जना संघिय कर्मचारी, ८६ जना प्रदेश सरकारका कर्मचारी ५ सय ५६ जना स्थानीय निकायका कर्मचारी र ७८ जना  सार्वजनिक संस्थान अन्तर्गतका कर्मचारी छन् । त्यस्तै निर्वाचनका लागि २ सय ९०  प्राथमिक शिक्षक खटिएका छन् । माध्यमिक र निम्न माध्यमिक तहका शिक्षक, स्थानीय तहका अस्थायी र करार तथा संस्थानका करार र अस्थायी कर्मचारीलाई निर्वाचनमा नखटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । खटिएका शिक्षकहरुलाई पनि कार्यरत पालिका र उनीहरुको स्थायी ठेगाना रहेका केन्द्र र पालिकाका स्थायी कर्मचारीहरुलाई सम्बन्धित पालिका र उनीहरुको स्थायी ठेगानामा मतदान अधिकृत र सहायक मतदान अधिकृत नबनाइएको कार्यालयले जनाएको छ ।

आइतबार दूधपोखरी, दोर्दी, क्व्होलसोथार, राईनास र मध्यनेपालका ७० वटा मतदान केन्द्रका मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री वितरण गरिएको छ । बेसीशहर र सुन्दरबजार नगरपालिका तथा मस्र्याङदी गाउँपालिकाका मतदान केन्द्रका लागि सोमबार निर्वाचन सामग्री वितरण गरिएको हो ।  यस अघि फागुन १२ र १३ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बेसीशहरमा निर्वाचन सम्बन्धी अभिमुखीकरण तालिम दिइएको थियो ।


प्रतिक्रिया