बेसीशहर । लमजुङका किसानहरूले शुक्रबार न्वागी खाएका छन् । हरिबोधनी एकादशीको भोलिपल्ट कार्तिक कृष्ण द्वादशीका दिन लमजुङका अधिकांश क्षेत्रमा भर्खरै नयाँ धानको न्वागी खाइएको हो ।
नयाँ धानबाली भित्र्याएका किसानहरूले नयाँ धानको चामल सबै भन्दा पहिले कूलयन देवता, अन्नपूणर्, भूमिदेवता लगायत इष्टदेवताहरूलाइ चढाएर मात्र आफूले खाने परम्परा अनुसार शुक्रबार विधिपूर्वक कूल देवता, इष्टदेवताको पूजा अर्चना र होमहोमादि गरी न्वागी खाएका हुन् ।
आजको दिन बिहानै नुहाइ धुवाइ गरी कूलदेवता, ईष्टदेवता, भूमिदेवता, अन्नपूणर्को पूजा अर्चना गरी नयाँ भित्रिएको धान र त्यसलाई कुटेर निस्किएको नयाँ चामलबाट होम गरेपछि
न्वागी खाने परम्परा छ । .
न्वागी किसानहरुको ठूलो चाड हो । असारमा रोपेको रोपोबाट खेतमा धान उब्जनी हुन्छ । त्यही धान पाकेर भकारीमा थन्काएपछि शुरुमा देवता तथा पितृहरुलाई चढाएर मात्र खाने परम्परागत चलन हो । नेपाल कृषिप्रधान देश भएकाले देशका विभिन्न भागमा कुनै न कुनै रुपमा न्वागी खाने चलन छ ।
परम्परा अनुसार न्वागी खानेु भन्दा पहिले धान नकाट्दै दिन हेरेर खेतबाट मुठी लिने चलन छ । कतै कतै हेराएर जुराएर मात्र मुठी लिने चलन छ भने कतै बिशेष दिन र बार पारेर मुठी लिने चलन छ । खेतमा पाकेर झुलेको धानको गाँजमा धुपद्वीप गरेर हातभरि आउने गरी धानको गाँज काटेर घरमा ल्याउने चलन छ । यसरी काटेर ल्याएको धानलाई सुकाएर चामल नटुक्रिने गरी कुट्ने चलन छ । ढिकी वा मिलमा कुट्दा चामल टुक्रिएर कनिका निस्कने भएर कतै कतै नङ वा लोहोरोको सहायताले धानको बियाँबाट चामल निकाल्ने गरिन्छ । यसरी निकालिएको चामलको अक्षता, न्वागी बनाएर देवताहरुलाई चढाए पछि मात्र न्वागी खाने परम्परा छ। तर हिजो आज यस्तो चलन हराउँदै गएको छ ।
केही बर्ष अघि किसानहरुले प्रायः स्थानीय र रैथाने जातका धानको बीउ रोप्थे । रैथाने जातको धान अलि ढिलो पाक्ने भएकाले कुनै बर्ष तिथिले न्वागी खाने समय अघि पर्यो
भने नपाकेकै भए पनि केही नयाँ चामल मिसाएर पुरानो चामलको न्वागी खाने चलन थियो । तर हिजोआज विभिन्न हाइब्रीड जातका धान लगाउने चलन बढेको छ । यस्ता हाइब्रिड धान असोज कार्तिकमै पाक्ने भएकाले न्वागी खान समस्या छैन ।
न्वागी खानका लागि भिजाएर राखेको नयाँ चामलमा दही, केरा मिसाएर न्वागी बनाइन्छ । न्वागीलाई थप स्वादिष्ट बनाउन मरिच, ल्वांग, सुकमेल, चिनी, दालचिनी जस्ता मसला मिसाउने चलन छ ।
न्वागीमा नयाँ चामलको रोटी समेत बनाएर खाने चलन छ । सक्नेले घरमा बनाएको न्वागी खेतबारी नहुने वा खेतीपाती नगर्नेहरुलाई समेत बाँडेर खाने चलन छ ।
न्वागी खाँदा अन्नपूणर् हिमालतर्फ फर्केर खाने चलन छ । यस अघि दही चामल मिसिएको न्वागीको चामलको टीका लगाउने गरिन्छ । यसरी पूजा अर्चना, होम गरी बनाएको नयाँ चामल खानु अघि टीका लगाउनुलाई अन्नप्रतिको सम्मानको रुपमा बुझिन्छ ।