बेसीशहर । विश्व वातावरण दिवसका अवसरमा लमजुङ सदरमुकाम बेसीशहर लगायत जिल्लाका विभिन्न ठाउँमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।
जन्मदिनमा वृक्षरोपण अभियान नेपालले सोमबार सदरमुकाम बेसीशहरमा सचेतना ¥यालीको आयोजना गरेको छ । त्यस्तै सुन्दरबजारमा रहेको एचडिसिएस नमूना सामुदायिक अस्पतालले पनि यस दिवसको अवसरमा अस्पताल परिसरमा बृक्षारोपण गरी मनाएको छ ।
¥याली मनाङ्गे चौताराबाट सुरु भई बेसीशहर बजार परिक्रमा गरी सेरा स्थित प्रकृति नारी समाजको भवनमा पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा वृक्षरोपण कार्यक्रमका परिकल्नाकार बासुदेव सेढाईले वातावरण परिवर्तन, दिनहुँ बढ्दो तापक्रमले एक दिन पृथ्वीमा मानिस बस्न नसक्ने हुने स्थिति आउन सक्ने भएकाले हरियाली बढाउनेतर्फ सबै लाग्नु पर्नेमा जोड दिए । उनले आफूहरुको बृक्षारोपण अभियानमा साथ दिएर महत्त्वपूर्ण भुमिका खेलेकामा धन्यवाद दिए ।
सो अवसरमा प्रकृति नारी समाजको भवन परिसरमा बृक्षारोपणसमेत गरिएको थियो ।
विश्व वातावरण दिवशको उपलक्ष्यमा सोमबार एचडिसिएस नमूना सामूदायिक अस्पतालले सुन्दरबजारमा वृक्षरोपण र बजार सरसफाई कार्यक्रम गरेको छ । दिवसका अवसरमा नमूना अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम संचालन गरिएको छ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, सुन्दरबजार नगरपालिकाका उपमेयर भवानी केसी, प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमल, सुन्दरबजार वडा नंं ६ का वडा अध्यक्ष दिनेशबाबु कोइराला लगायतको सहभागिता थियो ।
अस्पताल परिसरमा वृक्षरोपण गरिसकेपछि सुन्दरबजार क्षेत्रमा सरसफाई अभियान संचालन गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।