बेसीशहर । चार दशक लामाे शिक्षण पेशाको उत्तरार्द्धमा महाकाब्यकार श्रीकृष्ण न्यौपानेले आफूले अध्यापन गराएको विद्यालयमा बिशेष काब्य बाचन गरेका छन् ।
दोर्दी गाउँपालिकाको नौथरमा रहेको चैतन्योदय सत्य माध्यमिक विद्यालयको सभाहलमा महाकाव्यकार श्रीकृष्ण न्यौपानेले एकल काव्य प्रस्तुति दिएका हुन्। शुक्रबार विद्यालयमा भएको कार्यक्रममा साहित्यप्रेमी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा महाकाव्यकार न्यौपानेले करिब एक घण्टा विभिन्न छन्दमा रहेका आफ्ना रचनाका कविता, बहरबद्ध गजल र गीतहरु बाचन गरेका थिए । न्यौपानेले आफ्ना रसिला कविता, गीत तथा गजलहरु सुरिलो स्वरमा बाचन गर्दा दर्शक श्रोताहरु मन्त्रमुग्ध भएका थिए। उनको प्रस्तुतीले नेपाली साहित्यप्रतिको रुचि र आकर्षणलाई अझ प्रगाढ बनाएको महशुस सहभागीहरूले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले महाकाव्यकार श्रीकृष्ण न्यौपानेको काव्यिक क्षमताको उच्च प्रशंसा गर्दै साहित्य क्षेत्रको विकासमा काब्यिक कार्यक्रमहरुका महत्त्वबारे प्रकाश पारेका थिए ।
सोही अवसरमा विशिष्ट अतिथि एवं युवा साहित्यकार श्याम विक्रम न्यौपानेले छन्द, कविता, महाकाव्य, भाषा, शिक्षा, संस्कृति र सभ्यताका विविध पक्षहरूबारे सङ्क्षिप्त र अर्थपूर्ण परिचर्चा गरे । उनले महाकाब्यकार श्रीकृष्ण न्यौपानेका विभिन्न महाकाब्य, खण्डकाब्य तथा गीति काब्यहरुको परिचय दिँदैै उपस्थित विद्यार्थीहरूलाई साहित्य सिर्जनामा लाग्न प्रेरित गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकाजी श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक सहश्रजीवि घिमिरेले पनि भविष्यमा यस्ता साहित्यिक गतिविधि अझ बढाउँदै लैजान अनुरोध गरेका थिए।
जिल्ला हुलाक कार्यालयका सहलेखापाल डिल्ली रमण डाँगीले सञ्चालन गरेको उक्त कार्यक्रममा चैतन्योदय सत्य माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का करिब १०० जना विद्यार्थी, हुलाक कार्यालयका कर्मचारीहरू दीक्षा न्यौपाने र सन्तोष भूसाल लगायत विद्यालयका शिक्षकहरू गरी करिब १२५ जनाको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि बढाउनुका साथै सृजनात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
खबरकुञ्ज