चितवन । एक आमाले आफ्ना दुईजना नावालक सहित बुधवार बेलुकी आत्महत्याको प्रयास गरेकी छन् । विष सेवनपछि सिकिस्त भएका एक नाबालकको उपचारको क्रममा निधन भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंं १५ बस्ने ३६ वर्षीया सोनी पाख्रिनले बुधबार बेलुका आफ्ना ७ वर्षीय छोरा अस्किन र १८ महिनाको छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाख्रिनले प्याराक्वाइट डाइक्लोराइड नामक विषादी बच्चालाई खुवाइ आफूले पनि खाएको पाइएको छ ।
विष सेवन गरेपछि सिकिस्त भएकी उनीसहित दुवैजना बालकहरूलाई उपचारका लागि तत्काल हेटौडा अस्पताल पुर्याइएकोमा त्यहाँबाट राती ८.३० बजेतिर चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । विषको प्रभावले गम्भीर स्वास्थ्य अवस्थामा रहेका तीनै जनालाई आइसियूमा राखेर उपचार थालिएकोमा १८ महिनाको छोरा जेनिसको बिहीबार बिहान ८ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार सिकिस्त भएकी आमा र अर्का छोरा अस्किनको स्वास्थ्य अवस्था पनि गम्भीर छ । उनीहरू दुवै जनाको आईसीयूमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा आमाले नै बच्चालाई विषादी खुवाएर आफूले पनि खाएको पाइएको छ । नावालक छाेरासहित ती महिलाले बिष सेवन गर्नु पर्ने कारण खुलिसकेकाे छैन । मकवानपुर प्रहरीले जनताएको छ । प्रहरीले घटनाका सुक्ष्म अनुसन्धान गरिरहेको छ ।