गाउँशहर । वडा कार्यालय निर्माण र गाउँशहरलाई धार्मिक तथा पर्यटकीय वडाको रुपमा विकास गर्न खोजिरहेको बेसीशहरको वडा नं. ३ वडा कार्यालयलाई स्थानीयले साथ दिन थालेका छन् । याेसंगै गाउँशहरलाइ जिल्लाकाे प्रमुख पर्यटकीय क्षेत्र बनाउने लक्ष्यमा एउटा इटा थपिएकाे महशुस गरिएकाे छ ।
वडा कार्यालयको भवन निकै जीर्ण भएपछि पुरातत्व विभागको भवन र भाडाको अर्को घरमा वडा कार्यालय सञ्चालन गरिरहेकाे वडा कार्यालयले साविकको गाविस कार्यालयमा नयाँ भवन बनाउन लागेकाे छ। तर वरिपरि स्थानीयका घर पर्ने र वडा कार्यालय भवन बनाउन जग्गा अपुग हुने अवस्था भएपछि भवन निर्माण हुन सकेकाे छैन । पर्यप्त जग्गा नभएका कारण भवन निर्माणमा कठिनाइ भइरहेको सन्दर्भमा स्थानीय बासीन्दाले वडा कार्यालय भवन बनाउन तथा नजिकै रहेको शिवालय मन्दिरको प्रांगण फराकिलो बनाउन आफूले बस्दै आएको घर भत्काउन सहमति दिन थालेका छन् ।
यसैक्रममा सो वडाको गाउँशहरस्थित लमजुङ दरबारको प्रांगण बाहिर प्रवेशद्वारमा शिवमन्दिरसंगै जोडिएको घर भत्काउन स्थानीय शिवलाल श्रेष्ठले अनुमति दिएका छन् । २०७८ मा पुननिर्माण गरिएको शिवालय मन्दिरसंगै जोडिएको घरले मन्दिरमा भक्तजनहरुलाई पूजा अर्चना गर्न र मन्दिर परिक्रमा गर्न असहज भएको ठानेर स्वतस्फूर्त रुपमा घर भत्काउन उनको परिवारले सहमति दिएका हुन् ।
त्यस्तै वडा कार्यालय निर्माणका लागि सहज वातावरण बनाउन भन्दै स्थानीय ईश्वर कुमार श्रेष्ठले पनि वडा कार्यालय नजिकै रहेको आफ्नो घर भत्काउने निर्णय गरेका छन् ।
गाउँको विकासका लागि आफू बस्दै आएको घर भत्काउन सहमत हुने दुई परिवारलाई शुक्रबार गाउँशहरमा एक समारोहबीच सम्मान गरिएको छ ।
स्थानीय तीनधारे कालिका आमा समूहको सक्रियतामा शिवालय मन्दिर पुननिर्माण भएको थियो । मन्दिरका लागि आमा समूहले समूहको कोष, श्रमदानसमेत गरी करीब ७ लाख रुपैयाँ खर्च गरेको समूहकी अध्यक्ष मुना श्रेष्ठले बताइन् । मन्दिरका लागि सशस्त्र प्रहरी बल नेपालका पूर्व डिआइजी रोहित थापा र उनकी श्रीमती यज्ञलक्ष्मी थापाले विभिन्न माध्यमबाट सहयोग जुटाइ दिएका थिए ।
समूहकाे सक्रियता, थापा परिवार, वडा कार्यालय र स्थानीयकाे समेत पहलमा शिवलाय मन्दिर पुनर्निर्माण भएपछि मन्दिर परिसरमा हनुमानकाे मूर्ति र रिम्पाेछेकाे मूर्ति समेत स्थापना गरिएकाे छ । मन्दिरकाे पुनर्निमार्णसंगै गाउँशहरकाे पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिएकाे छ ।
शुक्रबार गाउँशहरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै सशस्त्र प्रहरीका पूर्व एआइजी थापाले गाउँशहरमा राम्रो दिनको सुरुवात भएको बताए । उनले गाउँको विकासका लागि आफ्नो घर नै भत्काउन तयार हुने स्थानीयलाई समर्पणका लागि धन्यवाद दिँदै गाउँशहर र लमजुङ दरबार क्षेत्र धार्मिक, पर्यटकीयका साथै ऐतिहासिक र पुरातात्विक महत्वको समेत भएकाले विश्व सम्पदा सूचिमा राख्न आफूले प्रयास गरिरहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाईले गाउँको विकासका लागि योगदान दिनेहरुको वडा कार्यालयले कदर गर्ने र गाउँ समाजको बिकासमा काम गर्नेको समाजले समेत उचित मूल्याङ्कन गर्ने बताए । उनले आफ्नो गाउँठाउँको विकासमा आफै अग्रसर हुनुपर्ने भन्दै वडा नं. ३ लाई नमूना वडा बनाई गाउँशहरलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउन आफू प्रयासरत रहेको बताए ।
बेसीशहर नगरपालिकाका पूर्व प्रवक्ता तथा स्थानीयबासी अजय मजाकोटीले एकता नै बल हो भन्दै सामूहिक प्रयास र एकताबाट समाजमा रचनात्मक काम गर्न सकिने बताए ।
कार्यक्रममा शिवालय मन्दिरका लागि घर भत्काउन सहमति दिने शिवलाल श्रेष्ठका छोरा नवराज श्रेष्ठले सोही घरमा जन्मे हुर्केर आफू यत्तिको बनको भन्दै घरको माया लाग्दा लाग्दै पनि गाउँको विकास, स्थानीयको सहजताका लागि आफ्नो परिवारले घर भत्काउने दिने निर्णय लिएको बताए ।
कार्यक्रममा शिवलाल श्रेष्ठका परिवार र ईश्वर कुमार श्रेष्ठका परिवारलाई सम्मान गरिएको थियो ।