बेसीशहर, माघ ५ गते । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट गमप्रसाद गुरुङलाई उमेदवार बनाएको छ ।
लमजुङमा कांग्रेसका दर्जनौं आकांक्षीलाई पछि पार्दै ईमान्दार, शालीन एवं बौद्धिक ब्यक्तित्व गुरुङलाई पार्टीका सभापति गगन थापाले आज अबेर टिकट दिएका हुन् । यस अघि पार्टीका पूर्व सभापति तुलसी नारायण श्रेष्ठले टिकट पाउने चर्चा थियो ।
गुरुङले टिकट पाएसंगै लमजुङमा यसको स्वागत हुन थालेको छ । गत जिल्ला अधिवेशनमा जिल्ला पार्टी सभापतिमा डा. टकराज गुरुङसंग पराजित भएका गुरुङ इमान्दार, कर्मठ र निष्ठावान नेताको रुपमा जिल्लामा परिचित छन् । जिल्ला कार्य समितिले वेवास्ता गरेपछि घाम्राङमै कृषि पेशामा रमाइरहेका गुरुङले टिकट पाएपछि लमजुङमा कांग्रेसको गुमेको साख र बिरासत उठाउने बताएका छन् । उनले भने–“म काम गर्ने मान्छे हो, म दायाँ बायाँ गर्न जान्दिन, मैले निर्वाचन जितेमा देश र जनताको हितमा ईमान्दार भएर काम गर्छु ।” जिल्लाको विकासका लागि आफूसंग स्पष्ट भिजन रहेको बताउँदै उनले आफूले विगतमा गरेका कामले पनि मतदाताहरुले मत दिने उनले बताए ।
लमजुङको क्व्होलसोंथार गाउँपालिका ८ घाम्राङका बासीन्दा गमप्रसादले टिकट पाएपछि सोही क्षेत्रका र एमालेबाट उमेदवार बन्न लागेका पृथ्वीसुब्बा गुरुङलाई भने संकट पर्ने भएको छ । गमप्रसाद गुरुङ क्व्होलसोंथार ८ र पृथ्वीसुब्बा गुरुङ सोही गाउँपालिकाको वडा नंं ९ का बासीन्दा हुन् । दुवैजना गुरुङ समुदाय र एकै पालिकाका भएकाले उनीहरुको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
क्व्होलसोंथारमा नेकपा एमालेको राम्रो पकड भएको क्षेत्र हो । यद्यपी बर्षौंदेखि एकल उमेदवार रहेका पृथ्वीसुब्बाको ठाउँबाट गमप्रसादको उमेदवारीले पृथ्वीसुब्बालाई निकै घाटा पर्ने स्थानीयले बताए । गाउँमै नमूना कृषि कर्म गरेर राजनीतिलाई पनि संगै अघि बढाइरहेका गमप्रसाद त्यस क्षेत्रमा निकै लोकप्रिय समेत छन् । क्व्होलसोंथार एमालेको प्रभाव क्षेत्र रहे पनि गुरुङ समुदायको बाहुल्य रहेकाले गमप्रसाद गुरुङले पृथ्वीसुब्बालाई कडा चुनौति दिने अनुमान गरिएको छ ।
खबरकुञ्ज