आगामी बर्षका लागि मध्यनेपाल नगरपालिकाकाे बजेट झण्डै ६८ करोड

खबरकुञ्ज

बेसीशहर, असार ११ । लमजुङको मध्यनेपाल नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि झण्डै ६८ करोड रुपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख रमेशकुमार पापाण्डेको अध्यक्षतामा मंगलबार आयोजित नगरसभामा नगर उपप्रमुख सीता गुरुङले ६७ करोड ९६ लाख ८५ हजार २ सय अठ्ठाईस रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । 

नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख गुरुङले बजेटले नगरको समृद्धि, सुशासन र सामाजिक न्यायको आधारमा समग्र विकासलाई अघि बढाइने बताउँदै संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक श्रोतबाट प्राप्त हुने रकमलाई बजेटको आधार बनाइएको जानकारी दिइन् । उनले चालुतर्फ ४४ करोड ७८ लाख र पूँजीगततर्फ २३ करोड १८ लाख ८५ हजार २२८ रुपैयाँ बजेट छुट्याइएको बताइन् ।


मध्यनेपालले जेटमा संघीय समानीकरण अनुदानतर्फ ९ करोड ९८ लाख, प्रदेश समानीकरण अनुदानतर्फ १ करोड २४ लाख १७ हजार, संघीय राजस्व बाँडफाँडतर्फ ८ करोड २१ लाख ५३ हजार २ सय अठ्ठाईस, तथा प्रदेश सवारी करतर्फ १ करोड ४७ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमानको आधारमा बजेट बनाएको छ ।

नगरप्रमुख रमेश कुमार पाण्डेले बजेटमार्फत नगरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा जोड दिइएको र प्रत्येक वडाका लागि ३५ लाख रुपैयाँका दरले बजेट छुट्याइएको जानकारी दिए । नगरबासीका अपेक्षा धेरै भए पनि श्रोत साधन कमजोर हुँदा नगरबासीका अपेक्षा अनुसार बजेट ल्याउन नसकिए पनि गरीब र बिपन्नहरुको हितलाई बजेटले आत्मसात गरेको जानकारी दिए ।

नगरसभामा बजेट पेश गर्दै उपप्रमुख गुरुङले चालु आर्थिक बर्षका लागि स्वीकृत भएका ३ सय ९५ योजनामध्ये  २ सय ८४ योजना सम्पन्न भइसकेका र अन्य योजनाहरु निर्माणको अन्तिम अवस्थामा पुगेका जानकारी गराइन् । नगरसभामा सबै वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, तथा कर्मचारीहरको उपस्थिति थियो ।

प्रतिक्रिया