बेसीशहरमा फेरि भेटियाे बिषालु गाेमन (काेब्रा) सर्प, उद्धार गरी प्राकृतिक बासस्थलमा छाेडियाे

खबरकुञ्ज

बेसीशहर, साउन ५ गते । पहाडी जिल्ला लमजुङमा पनि गोमन सर्प (कोब्रा) देखिन थालेको छ । सर्पहरुमध्ये अत्याधिक बिषालु मानिने गोमन सर्प सोमबार लमजुङको बेसीशहर नगरपालिका वडा नंं १ चिप्लेटीमा भेटिएको हो ।

चिप्लेटीका पुरुषोत्तम सिलवालको पसलमा दिउसो १ बजे गोमन सर्प छिरेको थियो । पसलको अगाडिको सडकबाट आएर पसलमा गोमन सर्प छिरेपछि सिलवालले डिभिजन वन कार्यालय लमजुङमा खबर गरेका थिए ।


गोमन सर्प घरभित्र पसेको खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी पुगेर घरभित्र टिनको भित्तामा बसेको गोपन सर्पलाई बाहिर निकालेका थिए । उक्त सर्पलाई त्यहाँबाट उद्धार गरी प्राकृतिक बासस्थानमा छोडिएको डिभिजन वन कार्यालय लमजुङका सूचना अधिकारी सन्ताेष खनालले बताए ।

केही समय अघि बेसीशहरको वडा नंं ८ गौंथलीडाँडामा पनि यस्तै गोमन सर्प भेटिएको थियो । गौथलीडाँडा बस्ने योबहादुर गुरुङको घरको धुरीमा बसेको राज गोमन सर्प डिभिजन वन कार्यालयका कर्मचारीको सहयोगमा जीवितै उद्दार गरि प्राकृतिक वासस्थानमा छोडिएको थियो ।

राज गोमन सर्प सामान्यतया उष्ण हावापानी (अति गर्मी ठाउँ)मा पाइने सर्प हो । यो सर्पको प्रजातिमध्ये अति विषालु प्रजातिमा पर्दछ । यो यति बिषालु हुन्छ कि यसले डसे पछि केही समयभित्रै उपचार गरिएन भने मानिसको मृत्यु हुन सक्छ । गोमन जस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै मानिसको शरीरमा विष फैलिएको लक्षण देखापर्ने र बिरामीको मुख र आँखा समेत बन्द हुन्छ । मुखबाट जिब्रोबाहिर निकाल्न नसक्ने र पानी निल्न समेत असजिलो हुनुका साथै हातखुट्टा तथा मांसपेशी चल्न कठिन हुन्छ । यस्तो विषालु सर्पले डस्ने बित्तिकै बिरामीलाई जतिसक्दो अस्पताल पु¥याउनु पर्छ। 

एक अध्ययनअनुसार नेपालको तराई क्षेत्रमा हरेक एक लाख मानिसमध्ये २२ जनाको सर्पको टोकाइबाट नै मृत्यु हुने गरेको तथ्यांक छ । 

तराईमा पाइने यो प्रजातिको सर्प लमजुङ जस्तो पहाडी जिल्लामा पाइनुलाई धेरैले अनौठो मानेका छन् । कतिपयले यसलाई जलबायु परिवर्तनको कारण पनि मानेका छन् । यद्यपी कतिपयले गोमन सर्प पहिल्यैदेखि पहाडी क्षेत्रमा पाइने गरेको पनि बताउने गरेका छन् ।

प्रतिक्रिया