सोतीपसल, जेठ ६ गते । मध्यनेपाल नगरपालिका वडा नं. ३ र ४ जोड्ने चर्दीखोलाको पूल आउँदो बर्षात शुरु हुनु अगावै बनिसक्ने भएको छ । असार लाग्नु अगावै पुल बन्ने भएपछि स्थानीय खुशी भएका छन् ।
लामो समयसम्म ठेकेदारको ढिलासुस्तीले अलपत्र परेको चर्दी खोलाको पुलको स्पानको ढलानको काम शुरु भएपछि यही असार मसान्त अगावै सञ्चालनमा आइसक्ने भएको हो । गत २०८० असार मसान्तसम्म पुल निर्माणको काम सम्पन्न भइसक्नु पर्नेमा ठेकेदारले चर्दी खोलाको दुवै किनारमा पिलर उठाएर मात्रै काम अलपत्र पारेको थियो । ।
असार मसान्तसम्म सक्नुपर्ने काम नसकेपछि नगरपालिकाले ठेकेदारलाई बारम्बार ताकेता गरेको थियो । ताकेतापछि अनेक बहाना बनाउँदै २०८० माघ मसान्तसम्म सक्ने प्रतिबद्धता जनाएकोमा ठेकेदारले त्यस समयमा पनि काम नगरेपछि नगर प्रमुख रमेश पाण्डेले ठेक्का सम्झौता नै रद्द गर्ने चेतावनी दिएपछि ठेकेदारले पुनः काम शुरु गरेको हो ।
मध्यनेपाल नगरपालिकाको वडा नं. ३ सोतीपसल र वडा नंं ४ को चर्दी बजार जोड्ने उक्त आरसिसि मोटरेबल पुल सिंगल स्पानको हो । यसको लम्बाई २० मिटर र चौडाई १० मिटर छ ।
पुलको निर्माण चितवनको भरतपुरमा रहेको केबिसी-प्रसाद जे.भी.ले गरिरहेको छ । ३ करोड ७० लाख ९१ हजार ४२५ रुपैयाँ लागत स्टेमेट रहेकामा ठेकेदारले २ करोड २५ लाख ४१ हजार ७७७ रुपैयाँ (भ्याटसहित) कबोलमा नगरपालिकासंग २०८० असार मसान्तसम्म पुलको निर्माण कार्य सक्ने गरी २०७८ माघ २२ गते सम्झौता गरेको थियो ।
ठेकेदारले अघिल्लो आर्थिक बर्षसम्म ५० प्रतिशत काम मात्र सम्पन्न गरेको थियो । गएको बर्षातका बेला खोलो बढेर स्थानीयलाई आउ जाउ गर्नै समस्या भए पछि र यस बर्ष पनि बर्षा शुरु हुनै लागेपछि नगरपालिकाले ठेकेदारलाई खबरदारी गरेको थियो ।
मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले समयमै काम नसकेपछि ठेक्का रद्द गर्ने सम्मको चेतावनी दिनु परेको बताए । यति चेतावनी दिएपछि ठेकेदारले पुनः काम शुरु गरेको र सर्टिङको काम सकि गत बिहीबारबाट ढलानको काम शुरु गरेको मेयर पाण्डेले जानकारी दिए ।
नगरपालिकाको प्राविधिक शाखाका सब इन्जिनियर ठाकुरप्रसाद घिमिरेले ठेकेदारले सम्झौता अनुसार समयमै काम नगरेपछि उसलाई भुक्तानी पनि कामको आधारमा मात्र गरिएको जानकारी दिए ।