कार्यकर्तामाथि हमला भएपछि रास्वपाले गर्याे मुख्य निर्वाचन अधिकृतकाे ध्यानाकर्षण

खबरकुञ्ज

बेसीशहर, फागुन २० । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वदलीय सर्व पक्षीय वैठकका क्रममा आफ्ना कार्यकर्तामाथि सांघातिक हमला भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

मध्यनेपाल नगरपालिकाको वडा नंं १० स्थित गणेश मालिका मा.वि. मतदान केन्द्रमा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्नका लागि फागुन १९ गते भएको सर्वदलीय, सर्वपक्षीय वैठकमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मीहरुको उपस्थितिमा मतदान केन्द्र परिसरमै नेपाली कांग्रेस समर्थित ब्यक्तिहरु शंकर बिष्ट र थिरबाबु परियारले रास्वपाका कार्यकर्ता कल्याण थापा र बिजयरञ्जन पौडेललाई धाक धम्की दिँदै सांघातिक हमलासमेत गरेका भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका सभापति अशोक सापकोटाले निर्वाचनको संघारमा मतदान केन्द्र परिसरमै पार्टीका कार्यकर्तामाथि भएको सांघातिक हमला र धाक धम्कीले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने कुरामा शंका उत्पन्न भएको भन्दै आक्रमणमा उत्रने ब्यक्तिहरु उपर फौजदारी कसुर अन्तर्गत कारबाही अगाडि बढाउन माग गरेका छन् ।

पत्रमा उनले आफ्ना पार्टीका प्रतिनिधि र आम मतदाताहरुलाई समेत भयरहित वातावरणमा मतदानमा सहभागी हुने ब्यवस्था मिलाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया